१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोट पुगिन् निवर्तमान प्रधानमन्त्री ओली पत्नी राधिका, भनिन्- संग्रहालय होइन, खरानी छाडेर जानुपर्ने भयो



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले आज बालकोटस्थित आगलागीबाट खरानी भएको घरको अवलोकन गरेकी छन् ।

जेन–जी को नाममा एक हुलले आगजनी गरेको घरको अवलोकन गर्न राधिका बालकोट पुगेकी हुन् ।

आफू वर्षौंदेखि बस्दै आएको घर आगजनीबाट ध्वस्त भएको देखेपछि उनी भावुक बनेकी थिइन् ।

यो घरलाई ओली र पत्नी राधिकाले नयाँ पुस्तालाई संग्रहालयका रुपमा छाडेर जाने बताएका थिए । तर अहिले जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा घरमा आगजनी गरी ध्वस्त पारिएको छ ।

‘यो घर सङ्ग्रहालयको रुपमा छोडेर जाने बिचार भए पनि अब खरानी छोडेर जानुपरेको छ’, उनले भनिन् ।

उनले जलेका पुस्तकका खरानीको टिका लगाउँदै आफूले यहाँ पुस्तकहरु जतन गरेर राख्ने गरेको, अध्यक्ष ओलीलाई देश विदेशबाट दिइएका सम्मानपत्र तथा बहुमूल्य बस्तुहरु समेत संग्रहालयको रुपमा सजाएर राखिएको बताइन् ।

‘मलाई यो घर व्यवस्थापन गर्न छ महिना लाग्यो’ उनले भनिन्, ‘एउटा कोठामा स्वदेशबाट प्राप्त सम्मानपत्र तथा मायाको चिनो र अर्को कोठामा चीन, कम्बोडिया, भारत, भियतनाम,जापानलगायतका देशका प्रधानमन्त्रीहरुले दिएका अमूल्य सामानहरु दराजहरुमा थिए ।’

शाक्यले आगलागी भएको घरका विभिन्न कोठामा भएका सामानको सम्झना गरिन् । ‘यति मेरो पसिना र श्रम परेको छ नि’ भावुक हुँदै शाक्यले भनिन् ‘बालुवाटार हुँदा पनि म साता दश दिनमा यहाँ आएर सामान मिलाउने र सफाइ गर्ने काम गर्थें ।’

शाक्यले घर फेरि बनाउन सकिए पनि इतिहास फेरि बनाउन नसकिने बताइन् । जेन–जी आन्दोलनका अराजक जत्थाले गत भदौ २४ गते बालकोट स्थित अध्यक्ष केपी शर्मा ओलीका दुवै घर जलाएको थियो ।