काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाइएको छ ।
पार्टी कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यस्तो जानकारी दिएका हुन् ।
उनले भने, ‘हामी सुरुमा आत्तिएका थियौँ । तर उहाँहरूको स्वास्थ्य उपचार राम्रो हुँदै गयो । अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ । उहाँहरूको स्वास्थ्यमा सुधार आइरहेको छ । उहाँ (देउवा)को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ । गर्धनमा सामान्य चोट छ । टाँका लगाएको ठाउँ र त्यो चोट निको हुँदै गएको छ ।’
अहिले सभापति देउवा सामान्य बोलचाल, हिँडडुल र पार्टीका नेताहरूसँग संवाद गर्नसक्ने भएको पनि उनले बताए ।
उनका अनुसार अहिले सभापति देउवालाई अस्पतालमै राखेर उपचार गरिँदै छ । बाहिर गएपछि भिडभाड हुने र त्यसले स्वास्थ्य लाभ गर्न असहयोग गर्नेभएकाले त्यसो गरिएको हो ।










