१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् रास्वपा सचिवालय बैठकका ७ निर्णय



अ+ अ-

काठमाडौँ। भदौ २३ गते जेन जि पुस्ताले अघि सारेको शान्तिपूर्ण आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नैतिक समर्थन जनाएको छ।

आन्दोलनको क्रममा देखिएको तोडफोड, लुटपाट र क्षतिलाई भने पार्टीले आफ्नै राजनीतिक अभ्याससँग असंगत रहेको स्पष्ट पारेको छ। समाजलाई अझै विभाजनमा धकेल्न नदिने उद्देश्यसहित रास्वपाले “सद्भाव तथा सहकार्य अभियान” सुरु गर्ने घोषणा गरेको हो।

पार्टीले असहमति समाधानको माध्यम संवाद र सहिष्णुतामार्फत खोजिनुपर्ने आफ्नो अडान पुनः प्रष्ट पारेको छ। त्यस्तै, पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको प्रवासी नेपालीलाई मतदान गर्ने अधिकारका मागमा सरकारको चासोलाई स्वागत गरेको छ। रास्वपाले यस सम्बन्धमा आफूसँगै रहेको ब्लुप्रिन्टका आधारमा अन्तरिम सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

साथै, प्रवासमा रहेका नेपालीको मतदाता नामावली पूर्ण रूपमा अनलाइनमार्फत दर्ता गर्नुपर्ने, दूतावास, कन्सुलेट र अन्तर्राष्ट्रिय विमानस्थलका आगमन–प्रस्थान स्थलमा बायोमेट्रिक सेवा उपलब्ध गराउनुपर्ने प्रस्तावसमेत गरेको छ।

जेन जि पुस्ताका धेरैजसो युवाहरू मतदाता नामावलीमा सूचीकृत नभएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा दर्ता अभियान सञ्चालन गर्ने पनि निर्णय भएको छ।

यसैबीच, रास्वपाको केन्द्रीय समितिको बैठक आगामी आश्विन ७ गते बस्नेछ। बैठकमा पार्टीको कार्यदिशाबारे विस्तृत छलफल गर्दै विस्तारित बैठक बोलाउने प्रस्ताव प्रस्तुत गरिनेछ।

यस्तै, पार्टीले फागुन ७ देखि ९ गतेसम्म आयोजना गर्ने तय भएको पहिलो ऐतिहासिक महाधिवेशनबारे पुनः छलफल हुने भएको छ। कारण, सरकारले फागुन २१ गते आम निर्वाचनको मिति घोषणा गरेपछि आवश्यक निर्णय आगामी विस्तारित बैठकमार्फत लिने तयारी भएको हो।

 यस्ता छन् बैठकका निर्णयहरु :

१. “सद्भाव तथा सहकार्य अभियान” प्रारम्भ गर्ने ।
२. “विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकार” ।
३. मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था ।
४. विदेशस्थित दूतावास/कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा उपलब्ध गराउ ।
५. जेन जि पुस्तालाई ध्यानमा राखी मतदाता नामावली दर्ताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अभियान सञ्चालन गर ।
६. केन्द्रीय समितिको बैठक २०८२ आश्विन ७ गते ।
७. पार्टीको आगामी कार्यदिशा सम्बन्धी बृहत छलफलका लागि केन्द्रीय विस्तारित बैठक बोलाउने र महाधिवेशन सम्बन्धी समेत छलफल गर्ने ।