२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् विस्तारमा सकस : मन्त्री छान्न अनौपचारिक कार्यदल !



प्रधानमन्त्री सुशीला कार्की । फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । जेन–जीका प्रतिनिधिसहित विज्ञहरुको सानो मन्त्रिपरिषद् बनाउने तयारी प्रधानमन्त्री कार्कीको छ । तर मन्त्री बनाउने व्यक्तिमा सहमति हुन नसकेपछि जेन–जी प्रतिनिधिहरुसमेत सहभागी गराएर प्रधानमन्त्री कार्कीले अनौपचारिक कार्यदल गठन गर्नुभएको छ ।

अनौपचारिक कार्यदलमा को–को सहभागी छन् भन्ने खुलेको छैन । तर यसमा प्रधानमन्त्री कार्कीका केही विश्वासपत्र र जेन–जी प्रतिनिधि सहभागी छन् । उनीहरुले मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने छन् ।

अहिलेसम्म प्रधानमन्त्री कार्कीले तीन जना मात्र मन्त्री नियुक्त गर्नुभएको छ । अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ र गृह तथा कानुन मन्त्रीमा ओमप्रकाश अर्याल हुनुहुन्छ ।

प्रधानमन्त्री कार्कीले बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गर्नुभएको छ । तर जेन–जीका प्रतिनिधिहरुबीच कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन नसक्दा समस्या भएको छ ।

अब जेन–जीका प्रतिनिधिसहितको अनौपचारिक कार्यदल नै बनाएर मन्त्री छनोट गर्न लागिएको हो । प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री निवास बालुवाटारमा तीन जना मन्त्री र मुख्यसचिवसँग छलफलसमेत गर्नुभएको छ ।

अब मन्त्रिपरिषदमा बढीमा ७ जना मन्त्री थपिने छन् । कार्यदलले दिएको सुझावअनुसार मन्त्री चयन हुने छन् ।

प्रधानमन्त्री कार्कीले राजनीतिक दलमा आवद्ध नभएका र समाजमा प्रतिष्ठा कमाएका व्यक्तिलाई मन्त्री बनाउन चाहनुभएको छ ।

उहाँले तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी प्रमुख वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुर रूइतसँग पनि अहिलेको राजनीतिक परिस्थितिका विषयमा छलफल गर्नुभएको छ । तर रूइतले आफू सामाजिक सेवामै सक्रिय हुने बताइसक्नुभएको छ ।

त्यसैगरी प्रधानमन्त्री कार्कीका सहयोगीहरूले संविधानविद् भीमार्जुन आचार्य र शिक्षाविद् केदारभक्त माथेमासँग पनि मन्त्रिपरिषद्मा सहभागी हुन आग्रह गरेका छन् । संविधानविद् आचार्य र शिक्षाविद् माथेमाले मन्त्री नबन्ने बताइसक्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले जेन–जीका प्रतिनिधिलाई मन्त्रिपरिषद्मा सहभागी गराउन चाहनु भएको छ । तर जेन–जीका प्रतिनिधिहरूले अहिलेसम्म मन्त्री बन्नेको नाम टुंगो लगाउन सकेका छैनन् ।

अब अनौपचारिक कार्यदलले समाजका प्रतिष्ठित व्यक्तिहरूसँग छलफल गरी मन्त्रिपरिषद्मा सहभागीहरूको नाम टुंगो लगाउने छ । मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि निर्वाचन, भ्रष्टाचार छानबिन, पुनर्निर्माण र सेवाप्रवाहमा सरकार केन्द्रित हुने छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पाएको कार्की नेतृत्वको सरकारलाई भ्रष्टाचार छानबिन, जनताको चाहनाअनुसार सेवा प्रवाहमा सुधार गर्नुपर्ने जिम्मेवारी पनि छ ।

त्यसका लागि पनि सकेसम्म चाँडै सरकारलाई पूर्णता दिनुपर्ने हुन्छ ।