काठमाडौं । नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताको कायम राख्न अपिल गरेको छ । पछिल्लो घटनाक्रमका बारेमा भर्चुअल बैठक गर्दै बारले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ।
बारले जारी गरेको विज्ञप्तीमा भनिएको छ – ‘संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नेपाल बार एसोसिएसन स्वीकार गर्दैन, विरोध गर्दछ, यसो नगर्न हार्दिक अनुरोध गर्दछौं । हालको संकटको निकास संवैधानिक मान्यता भित्र खोज्न जेन-जी लगायत सम्पूर्ण जनसमुदायमा नेपाल बार एसोसिएसन हार्दिक अपिल गर्दछौँ।’
विज्ञप्तीमा भनिएको छ ‘देश जोगाऔं, संविधानमा आवश्यक सुधार, परिमार्जन र संशोधन गरौं, नेपाली भूमिमा नेपाली जनताको ढुकढुकीमा संविधान बचाऔं। कुनै पनि बहानामा लोकतन्त्र, गणतन्त्र र समानुपातिक समावेशीता सहितको संघीयता जस्ता स्थापित संवैधानिक उपलब्धिहरूमा सम्झौता नगरौं । यस सन्दर्भमा संविधान बमोजिम राष्ट्रको अभिभावकको रूपमा राष्ट्रपतिको भूमिका अहम् रहेको स्पष्ट छ। यो मामिलामा सम्माननीय राष्ट्रपतिको सक्रिय र अनुभूत गर्न सकिने र देखिने सहभागिताको अपेक्षा गर्दछौँ। नागरिक शासन अविलम्व कायम गरियोस्।’











