काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मिडियाप्रति नकारात्मक दृष्टिकोण राखेको भनि आशंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
सोमवार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
दक्षिण एसियामै उत्कृष्ट मिडियाको अवस्था मुलुक नेपाल भएको उहाँको दाबी छ । उहाँले नेपाली काँग्रेस पार्टी लोकतन्त्र र जनताको अधिकारको लागि लड्ने पार्टी भएकाले उल्लेख गर्दै मिडियामाथि कुनै दुर्भावना नराख्ने समेत स्पष्ट पार्नुभयो । प्रश्तावित मिडिया काउन्सिल विधेयकमा धेरै विषयहरुमा संशोधन गर्नुपर्ने उहाँको स्वीकारोक्ति छ । मिडिया काउन्सिल गठनको प्रक्रिया परिमार्जन गर्नुपर्ने विज्ञको धारणा स्वागतयोग्य रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘दक्षिण एसियामा सबैभन्दा राम्रो मिडियाको अवस्था भएको देश नेपाल हो । यसमा नेपाल सरकारको मिडियाप्रतिको दृष्टिकोणमा शंका गरिहाल्नुपर्ने अवस्था पनि मैले देखेको छैन । काँग्रेसको त बेल्कुलै छैन । यो पार्टी त लोकतन्त्र र जनताको लागि लडेको पार्टी हो । सँगसँगै अन्य पार्टीको पनि त्यो मक्सद मैले देखेको छैन । त्यसकारण मक्सदमा शंका नगरिदिनि मैले निवेदन गरेँ । यो विधेयकको सन्दर्भमा केही कुराहरु संशोधनयोग्य छन् भन्ने मैले पनि महसुश गरेको छु । यो मिडिया काउन्सिल गठनको क्रममा बन्ने समितिको प्रक्रियामा परिमार्जन गर्नुपर्छ भन्ने विषयमा मेरो पूर्ण रुपमा सहमति छ । र यस विषयमा विषेशज्ञबाट उठेको कुरा पनि मनन्योग्य छ । त्यसलाई पनि परिमार्जन गरेर हामी अगाडि लैजान्छौं । अन्य नमिलेका कुरा पनि सुधार गर्र्छौं ।’
उहाँले विधेयकमा नमिलेको कुरालाई सुधार गरेर नेपालको सञ्चार जगतलाई समृद्ध बनाउने कुरामा सबै राजनीतिक दलहरु सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।









