धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पुर्याउन बाध्य भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएपछि किसानहरूले पहिरोग्रस्त सडक पार गर्दै आफूले उत्पादन गरेको तरकारी बेनीघाट बजारसम्म ल्याउने गरेका हुन् । वर्षातका कारण कृष्णभीर क्षेत्रमा निरन्तर पहिरो खसिरहँदा सडकको अवस्था जोखिमपूर्ण बने पनि उत्पादन बिक्रीका लागि बजार पुर्याउनुपर्ने बाध्यताका कारण किसानहरू जोखिम मोलेरै यात्रा गरिरहेका छन् ।
कृषकहरूले तरकारीका भारी बोकेर पहिरो खसेको क्षेत्रमा यात्रा गर्नुपरेको छ । सडकमा खसेका ढुङ्गा, लेदो माटो र पहिरोका कारण जुनसुकै बेला दुर्घटना हुनसक्ने जोखिम रहे पनि उत्पादन बजारसम्म पुर्याउन नसके लगानी नै डुब्ने डरले उनीहरू जोखिम उठाउन बाध्य भएका हुन् ।
भौगोलिक विकटता तथा प्राकृतिक प्रकोपका कारण सडक सञ्जालमा अवरोध सिर्जना हुँदा कृषि उपजको बजारीकरणमा समेत समस्या भएको छ । सडक अवरुद्ध हुँदा किसानले उत्पादन गरेको तरकारी समयमै बजारसम्म पुर्याउन नसक्दा आयआर्जनमा प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ ।
गत भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण कृष्णभीर, परेवाभीरलगायत नदी तटीय क्षेत्रमा सडकमा ठूलो क्षति पुगेको थियो । बाढीपछि प्रभावित सडक खण्डमा पहिरो खस्ने क्रम जारी रहँदा स्थानीयको दैनिक आवागमनसँगै कृषि उपजको ढुवानीसमेत प्रभावित भएको छ ।
कृषकहरूले सडकको तत्काल मर्मत तथा सुरक्षित आवागमनको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । सडक सञ्चालनमा नआए स्थानीय उत्पादन बजारसम्म पुर्याउन थप कठिनाइ हुने र त्यसको प्रत्यक्ष असर किसानको आम्दानीमा पर्ने उनीहरूको भनाइ छ ।
— न्युज एजेन्सी नेपाल









