काठमाडौँ । जेनजी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन् । सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकालाई जेनजी पुस्ता भनेर चिनिन्छ ।
माइतीघर मण्डलामा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन गरिने जनाइएको छ ।
विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित हुन आह्वान गरिएको छ ।
यसबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ । प्रधानमन्त्री भइसकेका मानिसहरू भ्रष्टाचारमा संलग्नको आरोप लागे पनि कानुनी कारबाही नभएकोलगायत विषयमा प्रदर्शन गरिने भएको हो ।
उनीहरुले ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठाएका छन् ।
उनीहरूले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण हुनुपर्ने बताएका छन् ।
नेपालमा अन्य सामाजिक सञ्जाल बन्द रहेपनि टिकटक र भाइबर भने चलिरहेका छन् ।











