२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत



अ+ अ-

कास्की। पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग सुरु भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी सुरुआत गरेका छन् । आफ्नो पहिलो खेल जितेका दुवै टोलीले तीन–तीन अङ्क बटुलेका हुन् ।

प्रतियोगिताको उद्घाटन खेलमा कर्णालीले घरेलु टोली पोखरा निन्जाजमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । कर्णालीले पहिलो सेट २५–२१ ले जित्यो । दोस्रो सेटमा २५–२० को जित निकालेको कर्णाली तेस्रो सेटमा झनै लयमा देखियो । उसले तेस्रो सेट २५–१४ अङ्कले जितेर उत्कृष्ट सुरुआत गरेको हो ।

त्यसैगरी, दोस्रो खेलमा ललितपुरले मधेस युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित निकाल्यो । प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेल ललितपुर क्विन्स र काठमाडौँ स्पाइकर्सबीच तथा दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबीच खेल हुने आयोजकले जनाएको छ । भोलिको अन्तिम खेल पोखरा निन्जाज र मधेस युनाइटेडबीच हुनेछ ।

यही भदौ २८ गतेसम्म सञ्चालन हुने लिगमा छ फ्रेन्चाइज टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले ‘सिङ्गल राउण्ड रोविन’का आधारमा एकआपसमा खेलेपछि बढी अङ्क जोड्ने दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई स्पोर्टस् हब बनाउने गरी सरकारले प्राथमिकता दिएको बताए । उनले पोखरा क्रिकेटमैदान तथा फुटबल रङ्गशालाको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए ।