काठमाडौं । ९ किलो सुन र चार करोड २५ लाख रुपैयाँसहित काठमाडौंमा पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बरामद रकम र सुुनसहित श्रेष्ठलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाएको हो ।
श्रेष्ठको कसुर प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले त्यहाँ पठाइएको हो ।
मंगलबार प्रहरीले छापा हानेर ठूलो मात्रामा रकम बरामद गरेको थियो । ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा ४ करोड २५ लाख रकम रहेको खुलेको थियो ।
त्यसैगरी सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम बरामद भएको छ । ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भएका छन् । उक्त रकम, सुनचाँदी सहित प्रहरीले गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
उक्त रकम र सुनचाँदी सहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ ।











