काठमाडौं। भारतको गुहाटीमा जारी टी–२० श्रृंखलामा आसामले नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रनको योगफल बनायो। टोलीका कप्तान सुमित घदीगावकरले ४७ बलमा १ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ७० रन बनाएर रिटायर्ड आउट भए।
ओपनर ऋषिकेश तामुलीले ४६ रन जोड्दै कप्तानसँग पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे। निहार देका ३७ रनमा आकाश चन्दको बलमा शेर मल्लको क्याचमा आउट भए भने साहिल जैन ९ रनमै एलबीडब्ल्यू भए। अभिनव सेनगुप्ता २ रनमा र भरगव लहकर शून्य रनमै अविजित रहे।
नेपालका लागि आकाश चन्दले २ विकेट हात पारे भने बसिर अहमदले १ विकेट लिन सफल भए। त्यस्तै, दुई खेलाडी रनआउट भए। यसअघि श्रृंखलाको पहिलो खेल नेपालले डीएल पद्धतिमा १५ रनले गुमाएको थियो भने दोस्रो खेलमा ९६ रन र तेस्रो खेलमा ९ रनको जित दर्ता गरेको थियो।










