काठमाडौं। भुटानसँग बराबरी खेल्दै नेपालले साफ यु–१७ महिला च्याम्पियनसिपमा तेस्रो स्थान हात पारेको छ।
आइतबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले समान १–१ गोल गर्दै बराबरी खेलेका हुन्। यस नतिजासँगै नेपालले समूह चरणका ६ खेलबाट जम्मा ४ अंक जोड्दै तेस्रो स्थानमा टुंग्याएको छ। नेपालले प्रतियोगिता अवधिभर एक जित र एक बराबरी मात्र हासिल गर्न सक्यो।
नेपालले पहिलो खेलमै भारतसँग ७–० को ठूलो हार बेहोरेको थियो। दोस्रो खेलमा भने भुटानलाई २–१ ले हराएर जित निकालेको थियो। तर तेस्रो खेलमा बंगलादेशसँग ३–० र चौथो खेलमा फेरि त्यही टोलीसँग ४–१ ले पराजित भयो। पाँचौं खेलमा भारतसँग ५–० को हार भोगेपछि अन्तिम खेलमा मात्र बराबरी गर्न सफल भयो।
नेपालका लागि पहिलो गोल बबतिका कार्कीले गरेकी थिइन् भने भुटानका लागि सोनम याङ्जेनले बराबरी गोल फर्काइन्। खेलको १५औँ मिनेटमा कप्तान भूमिका बुढाथोकीको पासमा बबतिकाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन्।
तर, पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमै सोनमले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन् र भुटानलाई पराजयबाट बचाइन्।
यसैबीच, प्रतियोगिताको उपाधि भने भारतले जित्न सफल भएको छ।










