७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५२ वर्षको उमेरमा कलेज भर्ना भए वडा अध्यक्ष खनाल



अ+ अ-

काठमाडौँ । मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले ५२ वर्षको उमेरमा कलेज भर्ना भएर औपचारिक शिक्षा शुरु गर्नुभएको छ ।

हेटौंडा उपमहानगरपालिका–१९ स्थित बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा उहाँ अहिले स्नातक तह (ब्याचलर) पहिलो वर्षमा समाजशास्त्र र स्वास्थ्य विषय अध्ययन गरिरहनुभएको हो । शिक्षाको महत्व सधैँ बुझ्दै आउनुभएका खनाल अहिले दोस्रो कार्यकालका लागि वडाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । जनप्रतिनिधिको जिम्मेवार पदमा पुग्दा समेत औपचारिक अध्ययनको अभावले मनमा गहिरो खालीपन महशुस भइरहने भएकाले गाउँमा आयोजना हुने कार्यक्रमहरूमा शिक्षित व्यक्तिहरूको सक्रियता र प्रभाव देख्दा आफू पनि त्यस्तै बन्ने चाहना दिनप्रतिदिन बलियो हुँदै गएको उहाँले अनुभव सुनाउनु भयो ।

विगतमा विदेश जाने सपना बोक्नुभएका खनालले पाँचपटक पासपोर्ट बनाए पनि अवसर जुरेन । उहाँले बस बेच्नुभयो, पसल गर्नुभयो, कुखुरा पालन जस्ता काम पनि गर्नुभयो । तर ऋणको चक्रव्यूुहबाट भने उम्कन सक्नुभएन । यद्यपि जीवनका ती सबै चुनौतीहरूले उहाँ कमजोर हुनु भएन । वडाध्यक्ष बन्नुअघि खनालको मुख्य चाहना एउटा विद्यालयको अध्यक्ष बन्ने थियो । २०७४ सालमा उहाँ पहिलोपटक वडा अध्यक्षमा निर्वाचित हुनुभयो । त्यसपछि श्री बाल जीवन ज्योति विद्यालय, मकरीको अध्यक्षको भूमिका समेत उहाँले सम्हाल्नुभयो । उक्त विद्यालयमा लगाईएको सप्ताहपूजाबाट संकलन भएको पैसाबाट कक्षा १२ सम्मको पठनपाठन शुरु गर्ने निर्णय उहाँले नै लिनुभयो । जसले गाउँमै उच्च शिक्षाको ढोका खोलेको छ । अहिले सो विद्यालयको नयाँ भवन निर्माण भइसकेको छ र स्थानीय विद्यार्थीहरूलाई सहज शिक्षाको अवसर प्राप्त भएको छ ।

वि.सं. २०५२ मा एसएलसी पास गरेका खनाल २७ वर्षपछि २०७९ मा कक्षा ११ आफैँले १२ कक्षा बनाएको विद्यालयमा पुनः भर्ना हुनुभयो । शिक्षाप्रति बढ्दो मोहका बीच उहाँले २०८१ सालमा कक्षा १२ उत्तिर्ण गर्दै २.६ जीपीए ल्याउनु भयो । त्यही आत्मविश्वासले उनलाई अझ उच्च शिक्षा हासिल गर्ने हौसला दियो । अहिले पनि सामाजिक जिम्मेवारीसँगै समय व्यवस्थापन गरेर उहाँ नियमित रूपमा क्याम्पसमा पढाइमा सहभागी भइरहेका छन् । शिक्षा प्रतिको यो लगनशीलता र जीवनभर सिकिरहने जाँगरले शिवप्रसाद खनाल मात्र होइन, उहाँको नेतृत्वमा रहेको समुदायका लागि पनि प्रेरणाको स्रोत बनेको छ ।