काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वउपराष्ट्रपति कमला ह्यारिसको सिक्रेट सर्भिस अर्थात गुप्तचर सेवा सुरक्षा खारेज गरिदिएका छन् । योसँगै उनी सुरक्षा सेवाविहीन बन्ने अवस्थामा पुगेकी छन् ।
ह्यारिसले डेमोक्र्याटिक पार्टीको तर्फबाट ट्रम्पसँग राष्ट्रपतिय चुनावमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । गएको जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई लक्षित गरी विभिन्न कदम चाल्दै आएका छन् ।
ट्रम्पले १ सेप्टेम्बर २०२५ देखि लागू हुनेगरी ह्यारिसको सिक्रेट सर्भिस खारेज गरेपछि संघीय सुरक्षा एजेन्टहरुले उनलाई निरन्तर सुरक्षा दिने छैनन् ।
अमेरिकाको संघीय कानुनअनुसार पूर्वराष्ट्रपतिले आजीवन र पूर्वउपराष्ट्रपतिले पदावधी सकिएपछि ६ महिनासम्म सिक्रेट सर्भिसको सुरक्षा पाउने व्यवस्था छ । कानुनअनुसार ह्यारिसको पदावधी सकिएको ६ महिनापछि सिक्रेट सर्भिस नपाउने भए पनि तत्कालीन राष्ट्रपति जो बाइडेनले आदेश जारी गर्दै ह्यारिसका लागि थप एक वर्ष सिक्रेट सर्भिसको सुरक्षा दिने निर्णय गरेका थिए ।
बाइडेनको आदेशलाई खारेज गर्दै राष्ट्रपति ट्रम्पले ह्यारिसले थप एक वर्ष पाउने सिक्रेट सर्भिस खारेज गरिदिएका हुन् । ह्यारिसले पूर्वउपराष्ट्रपतिको हैसियतमा कानुनअनुसार पाउने सुरक्षा सेवाअवधि जुलाइ २१ मै सकिएको थियो । पूर्वराष्ट्रपति बाइडेनको तत्कालीन आदेशअनुसार उनले ह्यारिसले जुलाई २१, २०२६ सम्म सिक्रेट सर्भिस पाउने थिइन् ।
‘पूर्वउपराष्ट्रपति कमला डी. ह्यारिसलाई कानुनले तोकेकोबाहेक कार्यकारी आदेशमार्फत दिइएको कुनै पनि सुरक्षा प्रक्रिया १ सेप्टेम्बर २०२५ देखि लागू हुने गरी खारेज गरियो,’ होमल्यान्ड सेक्युरिटी सेक्रेटरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ह्यारिसकी वरिष्ठ सल्लाहकार कस्र्टन एलेनले पूर्वउपराष्ट्रपति ह्यारिस संयुक्त राज्य ‘सिक्रेट सर्भिस’को व्यावसायिकता, समर्पण र सुरक्षाप्रतिको अटल प्रतिबद्धताप्रति आभारी रहेको एसोसिएटेट प्रेससँग बताएकी छन् ।
ह्यारिस पहिलो महिला र पहिलो अप्रवासी महिला उपराष्ट्रपति भइसकेकी व्यक्ति भएकोले सुरक्षा चुनौती हुनसक्नेबारे जानकारीहरुले प्रतिक्रिया जनाएको एपीले उल्लेख गरेको छ ।










