१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

नेपालगन्जमा ६० थान मात्रै किट बाँकी

नेपालगन्जमा ६० थान मात्रै किट बाँकी
अ अ+ अ-

नेपालगन्‍ज । समुदायमा कोभिड–१९ संक्रमण फैलिएको नेपालगन्जमा पीसीआर परीक्षणका लागि किट अभाव भएको छ । स्वास्थ्यकर्मीले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ, स्वाब संकलन र परीक्षण एकैसाथ गरिरहेका छन् । प्रयोगशाला रहेको भेरी अस्पतालका अनुसार बिहीबार साँझसम्म ६० थान मात्रै किट बाँकी छन् । शुक्रबार थप किट उपलब्ध नभए स्वाब संकलन र परीक्षण रोकिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साताअघि किट पठाएको थियो । त्यसयता थप किट उपलब्ध गराउन पत्राचार गरिसकेको अस्पतालले जनाएको छ । हालसम्म नेपालगन्ज–८ का २२ र नेपालगन्ज–५ का एक जनामा संक्रमण पुष्टि भएको छ । अहिले संक्रमितको सम्पर्कमा आएका थप व्यक्ति पहिचान गरेर स्वाब संकलन भइरहेको छ । अस्पतालमा १ सय ६० सेट पीपीई र ५ सय वटा एन–९५ मास्क मात्रै मौज्दात छ । खजुरास्थित कोरोना अस्पतालमा संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी तथा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा जाने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि पनि आवश्यक भएकाले सुरक्षा सामग्रीको समेत अभाव रहेको भेरीका चिकित्सकले बताएका छन् ।

संघीय र प्रदेश सरकारले नेपालगन्ज उपमहानगरलाई पर्याप्त किट नपठाउँदा स्वाब परीक्षणको दायरासमेत बढेको छैन । ‘पीसीआर किट खरिद गर्न पाइएको छैन । विदेशबाट सरकारले किनेर ल्याउने हो,’ भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। प्रकाश थापाले भने, ‘चार जनाको टोलीले ट्रेसिङ गरेकाहरूको स्वाब संकलन गरेर परीक्षण भइरहेको छ । तर, हामीले मागेअनुसार किट आएको छैन ।’ किट अभाव हुन थालेको जानकारीपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले शनिबार साँझसम्म जसरी भए पनि थप किट उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले सुनाए । उनले स्वाब राख्ने भीटीएमको समेत अभाव रहेको जनाए । ‘तत्कालै पाँच सयदेखि एक हजार थान पीसीआर किट आवश्यक छ,’ उनले भने, ‘त्यति भयो भने केही दिन अभाव टर्थ्यो ।’

स्वास्थ्य कार्यालयले पनि किट अभावकै कारण थोरै मात्र स्वाब संकलन गरेको बताएको छ । स्वाब संकलनमा समन्वय गर्न बीपी चोक पुगेकी उपमहानगरकी उपप्रमुख उमा थापामगरले प्रदेश र संघीय सरकारप्रति आक्रोश पोखिन् । ‘स्वास्थ्य कार्यालयले ३० जनाको स्वाब संकलन गर्ने लक्ष्य राखेको थियो । तर, परीक्षण गराउने थपिएपछि समस्या भयो,’ उनले भनिन्, ‘स्वाब संकलन नगरिए पनि परीक्षण गराउन चाहनेको नाम टिपेर राख्नुस् भनेकी छु । थप पीसीआर किट आएपछि स्वाब संकलन गर्ने आश्वासन दिएर फिर्ता पठाएकी छु ।’ उपमहानगरले पीसीआर किट खरिद गर्न चाहे पनि सम्भव नभएको उनको भनाइ छ ।

‘पैसा भएर पनि किट खरिद गर्न नपाएपछि साँघुरो घेरामा रहेर काम गर्न बाध्य छौं,’ उनले भनिन्, ‘एउटै टोलमा २३ जना संक्रमित भेटिएर समुदायमा संक्रमण सरिसक्दा पनि सरकार तातेको छैन ।’ स्वास्थ्य कार्यालयका अनुसार बिहीबार पनि संक्रमितको पहिलो सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ गरेर स्वाब परीक्षण गरिएको छ । संक्रमित व्यक्तिसित दोस्रो र तेस्रो चरणमा सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ अझै हुन सकेको छैन । स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहले भेरी अस्पतालको ल्याबको क्षमता हेरेर स्वाब संकलन गरिरहेको दाबी गरे । ‘ल्याब क्षमताका आधारमा स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँछौं,’ उनले भने । किट अभावले परीक्षणको दायरा नबढेका बेला ल्याबमा प्रयोग हुने रसायन पनि फरक–फरक कम्पनीका भएकाले समय लाग्ने गरेको उनले बताए ।

४८ जनाको स्वाब संकलन

संक्रमितसित सम्पर्कमा आएका ४८ जनाको चार स्थानबाट स्वाब संकलन गरिएको छ । बिहीबार नेपालगन्ज–१२, बीपी चोकबाट ३०, खजुरा गाउँपालिकाबाट १७ र कोरोना अस्पतालको आइसोलेसनमा रहेका एक गरी ४८ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय प्रमुख शाहले बताए । उनका अनुसार बुधबार १ सय ८३ जनाको ट्रेसिङ सकिएको थियो । तीमध्ये १ सय ३६ जनाको स्वाब संकलन गरिएको थियो । अहिले १ सय ८४ जनाको स्वाबको नमुना परीक्षणका क्रममा छ । गत शुक्रबार नेपालगन्जमा एक जनामा कोरोना पुष्टि भएको थियो । ती व्यक्तिको सम्पर्क ट्रेसिङ गरेर शनिबार ९० जनाको स्वाब लिइएकामा परीक्षण गर्दा आइतबार र मंगलबार गरेर २२ जनामा कोरोना पोजिटिभ देखिएको थियो । यसबीचमा मंगलबार लिइएका स्वाबको ५४ नमुना र बर्दियाबाट बठाइएका स्वाबको रिपोर्ट भने नेगेटिभ भेरी अस्पतालले जनाएको छ ।

निषेधाज्ञा शुक्रबारदेखि खुकुलो हुने

जिल्ला प्रशासनले तीन दिनदेखि जारी गरेको निषेधाज्ञा शुक्रबारदेखि केही खुकुलो बनाउने निर्णय गरेको छ । सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु खरिद गर्न बिहान ११ देखि ३ बजेसम्मको समय छुट्याइएको छ । उक्त अवधिमा सामाजिक दूरी कायम गरी नजिकका पसलबाट सामान खरिद गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । बिनाकाम बजारमा निस्किए सवारी साधन जफत गर्नेदेखि जरिवाना हुने सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जनाए । कान्तिपुर दैनिक