७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधायन व्यवस्थापन समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज (सोमबार) दिउँसो साढे २ बजे बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल  गर्ने कार्यतालिका छ ।

समितिमा छलफलमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमा वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुर्याउने प्रयोजनका लागि प्रयोगशालाको स्थापना तथा सञ्चालनसम्बन्धी विषयहरू उल्लेख छन् ।

जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखित, मालसमान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित प्राप्त वस्तुको परीक्षण गर्न सकिने विषयहरू विधेयकमा समेटिएको छ ।

प्रयोगशालाको स्थापना, काम कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्थासँगै कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षणलगायतको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । यिनै प्रस्तावित व्यवस्थामाथि दफाबार छलफल गर्ने कार्यसूची छ । सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो ।