काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–२ गोलले हराएको हो ।
लेभान्टेको घरेलु मैदानमा बार्सिलोनाले जित निकाल्न एक आत्मघाती गोलको सहारा पाएको थियो जुन खेल सकिनै लाग्दा इन्जुरी समयमा सम्भव भयो ।
खेलको १५ औं मिनेटमा इभान रोमेरोले गोल गर्दै लेभान्टेलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफकै इन्जुरी समयमा लुइस मोरालेसले गोल गर्दै लेभान्टेको अग्रता दोब्बर पारे । यता दोस्रो हाफको सुरुवाती चरणमै बार्सिलोनाले दुई गोल गर्दै खेललाई बराबरीमा ल्याए । पेड्रीले ४९ औं तथा फेरान टोरेसले ५२ औं मिनेटमा गोल गरे ।
खेल सकिनै लाग्दा इन्जुरी समयमा लेभान्टेका युनाई एल्गेजवालले आत्मघाती गोल गरेपछि बार्सिलोना ३–२ गोलले विजयी बन्यो । बार्सिलोनाको यो लगातार दोस्रो जित हो भने लेभान्टेको लगातार दोस्रो हार ।










