काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता आफैंले छोडेको बताउनुभएको छ ।
च्यासलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति हुने बेला भण्डारी आफैंले सदस्यता छोडेको बताउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खोसिएको नभई राष्ट्रपति हुनका लागि उहाँ आफैँले सदस्यता छाडेको ओलीले प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो– ‘खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको हो ।,’ सदस्यता नवीकरणबारे पार्टीसँग छलफल पनि नगरेको अध्यक्ष ओलीको भनाई छ ।
‘पार्टीले किन खोस्छ सदस्यता, थिएन त्यसो भएकाले खोस्नै परेन । सदस्यताका लागि आवेदन गर्नुभएको पनि छैन, नवीकरणका लागि पार्टीमा आएर कुरा पनि गर्नुभएको छैन ।’ प्रधानन्त्री ओलीले भन्नुभयो ।
यस्तै, प्रधानमन्त्री ओलीले दर्ता गर्दैमा सदस्यता नवीकरण नहुने पनि बताउनुभयो । ‘कार्यालयमा आएर दर्ता चलानी फाँटबाट सदस्यता नवीकरण गरेँ भनेर, शुल्क तिर्दैमा सदस्यता पाउँछन् भन्ने हुन्छ ?,’ उहाँले प्रश्न गर्नुभयो ।










