काठमाडौँ । नेपाल शिक्षक महासङ्घले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलनमा उत्रने बताएको हो ।
अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने महासंघले चेतावनी समेत दिएको छ ।
महासंघका अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ भने भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ ।
यस्तै, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने छ ।
भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने महासंघको तयारी छ ।
सरकारसँग गरेको २७ बुँदे सहमति नै बटमलाईन भएको र सो अनुसार सरकारले आफ्ना माग पुरा नगरेको महासंघको भनाई छ । शिक्षा विधेयक संसदीय समितिबाट पारित भएपछि महासङ्घले यसप्रति असन्तुष्टि जनाएको हो ।










