रुपन्देही। लुम्बिनी प्रदेश सरकारले थारू समुदायको प्रमुख सांस्कृतिक पर्व बर्का अट्वारीको अवसरमा प्रदेशका थारू समुदाय बढी रहेका ६ जिल्लामा आइतबार (भदौ ८ गते) सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा हुने जानकारी दिएको हो।
अट्वारी पर्व थारू समुदायले विशेष आस्था र श्रद्धाका साथ मनाउने परम्परा रहिआएको छ। यस दिन पुरुषहरूले निराहार व्रत बसेर सूर्यको पूजा गर्ने गर्छन्।
सूर्यलाई उज्यालो र जीवनशक्तिको प्रतीकका रूपमा मानिन्छ भने पौराणिक कथाअनुसार भीमको पूजा गर्ने चलन पनि यस पर्वसँग जोडिएको छ। कुशे औंसीपछिको पहिलो आइतबार मनाइने यो पर्व यस वर्ष भदौ ८ गते परेको छ।










