काठमाडौँ। द स्केट ल्यान्डको आयोजना तथा नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ सङ्घको सहकार्यमा आगामी असोज ४ गते पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन प्रतियोगिता हुने भएको छ ।
काठमाडौँ सुन्दरीजलको आलापोटबाट सुरु भई गोकर्ण तालिम चोकमा सम्पन्न हुने उक्त प्रतियोगिता पाँच किलोमिटरको दूरीमा रहने छ ।
प्रतियोगितामा नेपाल, भारत र संयुक्त अरब इमिरेट्स (दुबई) का गरी दुई सय खेलाडीले सहभागिता जनाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्केट ल्यान्डका संस्थापक अब्राहिम राईले जानकारी दिनुभययो ।
उहाँले नेपालमा पहिलो पटक इनलाइन स्केटिङको राष्ट्रिय प्रतियोगिता हुन लागेको बताउनुभयो । प्रतियोगितामा स्वर्ण विजेताले रु ५० हजारसहित स्केट सुज, सेफ्टी गियर, रजतपदक प्राप्त गर्नेले ३० हजारसहित स्केट सुज र काश्यपदक प्राप्त गर्नेले रु १५ हजारसहित सेफ्टी गियर प्राप्त गर्नेछन् ।
नेपालमा हाल सञ्चालनमा रहेका तीन सयभन्दा बढी स्केटपार्कमा रहेका उत्कृष्ट खेलाडी तथा भारतबाट ५०भन्दा बढी खेलाडी प्रतिस्पधाका लागि आउने बताइएको छ ।
नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले प्रतियोगिता भविष्यमा इनलाइन स्केटिङ र स्केट बोर्डिङ खेलले व्यावसायिक रूप लिन कोशेढुङ्गा सावित हुने बताउनुभयो । रासस










