काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले म्याद थप भएको समयभित्रै नयाँ संसद भवनको बाँकी काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।
मंगलवार सिंहदरबारमा बसेको निर्माण ठेकेदारहरुसँगको छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले संसद भवन बनाउन धेरै समय लागिसकेको भन्दै अहिले पनि समयमै सकिने हो की होइन भन्ने प्रश्न उठिरहेको बताउनु भयो ।
उहाँले अहिले हात्ती छिर्यो पुच्छर अड्कियो जस्तो भएको उल्लेख गर्दै म्याद थप भएको समयमै र वर्किङ क्यालेण्डरअनुसार वर्किङ क्यापासिटी बढाएर काम गर्न निर्देशन दिनुभयो । सम्झौताको आधारमा बसेर काम गर्न उहाँको निर्देशन छ ।
उहाँले भन्नुभयो, ‘संसद भवन बनाउनै यत्तिका समय लाग्यो, सम्पन्न हुने हो की होइन भन्नेमा प्रश्न उठेको छ । बाँकी समयमा सम्पन्न गराउन, ४० प्रतिशत काम छ । हात्ती छिर्यो, पुच्छर अड्कियो जस्तो भएको छ । कसरी सम्पन्न गराउने भन्नेमा मन्त्रालयले गर्नुपर्ने काममा पनि गम्भीर छौँ । म्याद थप भएको समयमै र वर्किङ क्यालेण्डरअनुसार वर्किङ क्यापासिटी बढाउनुस् । सम्झौताको आधारमा बसेर काम गर्नुपर्छ । काम हुनुप¥यो ।’
उपप्रधानमन्त्री सिंहले मन्त्रालय, निर्माण कम्पनीले गर्नुपर्ने काम समूहगत रुपमा बाँकी समयमै सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने बताउनु भयो । मन्त्रालयलाई संसद भवनको काम जस्तै त होला नि भनेर दाँज्न थालिएको बताउनु भयो ।










