काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई फोन गरेकी छन् । अहिले अमेरिकामा रहेकी उपसभामुखले मंगलबार नेता कोइरालासँग फोन संवाद गरेकी हुन् ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले उपसभामुखमाथि आचरणको प्रश्न उठाउँदै पदबाट हटाउने तयारी गर्दै आफ्ना सांसदहरूको हस्ताक्षर लिएको छ । यसै सन्दर्भमा उपसभामुखले नेता कोइरालालाई फोन गरेकी हुन् ।
रानाले कोइरालासमक्ष ‘प्रजातन्त्रका लागि लडेको कांग्रेस पार्टीले के गर्न लागेको हो ?’ भनेर कुरा गरेको बताइएको छ । जबाफमा नेता कोइरालाले आफ्नो ठाउँबाट लागिरहेको बताएका थिए ।
कांग्रेसले आज संसदीय दल सिंहदरबारमा सांसदहरूलाई बोलाएर हस्ताक्षर गर्दा शेखर कोइरालानिकट केही सांसदले
भने प्रयोजन नखुलाई गरिएको हस्ताक्षरमा सहभागी नहुने बताएका थिए ।
गत वर्ष पनि उपसभामुख राना मगरलाई हटाउन कांग्रेस र एमालेले तयारी गर्दा नेता कोइरालाले विरोध जनाएका थिए ।
कांग्रेस र एमाले उपसभामुखलाई पदबाट हटाउने तयारी गर्दैछन् । ६ सदस्यीय संवैधानिक परिषदमा उपसभामुख पनि रहने व्यवस्था छ । संवैधानिक परिषदमा सत्तापक्ष र प्रतिपक्षीको मत बराबर छ । जसकारण निर्वाचन आयोग लगायतमा नियुक्ति हुन सकेको छैन ।










