५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

जहाँ गर्मी भुल्न आउँछन् तराईवासी…

जहाँ गर्मी भुल्न आउँछन् तराईवासी…
अ+ अ-

कमलामाई । तराईमा यतिबेला उखरमाउलो गर्मी छ । सिन्धुलीमा शीतलताको कमी छैन । नीलो आकाशको छानोमुनि उभिँदा सेतो बादलको घुम्टाले ढपक्कै ढाक्छ यहाँ । गर्मीयाम बिर्साउने हुस्सुले पनि साथ छोड्दैन ।

तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै सिन्धुली प्रवेश गर्ने तराईवासीलाई करकरेको रसिलो भुइँकटहरले स्वागत गर्दछ । सिन्धुलीको सदरमुकाम, माढीबजारबाट १० किलोमिटर दक्षिणतर्फ पर्ने कमलामाई नगरपालिका–८ करकरेलाई भुइँकटहरको पकेट क्षेत्र मानिन्छ । यहाँको स्वादिलो कटहरले मात्रै होइन, प्रकृतिले पनि स्वर्गीय सन्तुष्टि प्रदान गर्दछ ।

सडक छेउमा स्थानीय व्यापारीले राखेका कटहरको सुगन्धले बिपी राजमार्गका यात्रुहरुलाई हतारमा भए पनि केही क्षण रोकिन बाध्य पार्छ । मिठासले भरिएको कटहर चाख्दै कतिपयले कोसेलीका रूपमा लिएर जाने गर्दछन् । माढी बजारबाट बिपी राजमार्ग हुँदै उत्तरतर्फ लाग्दा भिन्नै मौसमको अनुभव हुन्छ । माढी बजारबाट १६ किलोमिटर अगाडि बढेपछि सिन्धुलीगढी पुगिन्छ । जहाँ गर्मीयाममा पनि शीतलहर चल्छ । चियाबारीबाट अगाडि बढेपछि देखिने प्राकृतिक मनोरम दृश्य र सडक छेउका स्थानीय उत्पादनको मिठासले सबैलाई मोहित बनाउँछ । यही कारण भारतदेखि तराईसम्मका पर्यटक यहाँ घुम्न आउँछन् ।

सिन्धुलीको शीतल वातावरणले गर्मीमा तापिएका तराईवासीलाई मात्रै होइन, यहाँका स्थानीय नागरिकलाई पनि राहत दिन्छ । वर्षभरि ओसिलो र सिमसार देखिने सिन्धुलीगढी क्षेत्रको महत्व गर्मीयाममा झनै बढ्छ । माढीबजार क्षेत्र गर्मीले तात्दा गढी क्षेत्र हुस्सुले छोपिन्छ । बिहान–बेलुका त जाडो नै महसुस हुन्छ । भारतको विहारबाट परिवारसहित घुम्न आएका शीतल भगतलाई यहाँको मौसमले प्रफुल्लित बनायो । “हाम्रो विहारमा अहिले गर्मीको तापले हैरान छौँ, पङ्खाले पनि राहत दिँदैन । यहाँ त चिसो महसुस भयो,” उहाँले हाँस्दै सुनाउनुभयो ।

भगतको परिवार बिहानै भारत–नेपाल सीमा नाकाबाट सवारी चढेर बिपी राजमार्ग हुँदै कमलामाई नगरपालिका–३ मा अवस्थित ऐतिहासिक, धार्मिक, प्राकृतिक र पर्यटकीयस्थल सिन्धुलीगढीको यात्रामा निस्किएको थियो । उहाँसहितको नौ जनाको परिवारले जिल्लाका विभिन्न मनमोहक ठाउँमा रोकिँदै चियानास्ता, फलफूल खाँदै, सामूहिक तस्बिर खिच्दै चेर यात्रालाई अगाडि बढाए ।

सिन्धुलीगढी पुगेको थियो । ऐतिहासिक सिन्धुलीगढीको डाँडामा बसेर टाढासम्म फैलिएको दृश्य नियाल्दाको चरम आनन्द उहाँले शब्दमा व्यक्त गर्नै सक्नुभएन । “हाम्रोतिर चर्को घाम लाग्ने हुँदा दिउँसोको समयमा हिँड्डुल गर्न कठिन छ । तर यहाँ आइपुग्दा निकै शीतलता महसुस भयो । हरियाली जङ्गल सुन्दर वातावरणले रोमाञ्चक बनायो,” उहाँले भन्नुभयो ।

सिन्धुलीगढी क्षेत्र प्राकृतिक सुन्दर दृश्य र शीतलताका लागि मात्रै नभई ऐतिहासिक महत्वका कारण पनि पर्यटकको रोजाइमा पर्दछ । यहाँ ब्रिटिस सेनालाई गोर्खाली फौजले पराजित गरेको गौरवमय वीरता समेटिएको छ । सानो गढी, पौवागढी, तोप हान्ने प्वाल, ऐतिहासिक इनार, जेलघर, रानी दरबार र युद्ध सङ्ग्रहालयले यहाँको गौरव झल्काउँछ । सिद्धबाबा मन्दिरले धार्मिक आस्था बढाउँछ । अग्लो पहाड र हरियाली जङ्गलको बीचमा रहेको यो गढीमा पुगेपछि जो कोहीलाई आनन्द र शान्तिको अनुभूति हुने गर्छ ।

जनकपुरधाम उपमहानगरपालिका–१३ का कैलाशकुमार राउतलाई पनि सिन्धुली घुम्दाको अनुभव अविस्मरणीय लाग्यो । उहाँले भन्नुभयो, “यहाँ घुम्दा मनै मोहित भयो । तराईमा यहाँजस्तो वृक्ष छैन । अहिले बस्नै नसक्ने गर्मी छ । तराईमा पनि यस्तै हरियाली वातावरण होस् भन्ने इच्छा धेरै छ ।” दैनिक जिल्लामा कति सङ्ख्यामा पर्यटक भित्रिन्छन्, यसको तथ्याङ्क कुनै निकायसँग छैन । तर, भगत र राउत जसरी आउने पर्यटक यहाँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यताको प्रशंसा गर्दै फर्किन्छन् ।

त्यसैले त सिन्धुलीका सडक छेउ स्थानीय उत्पादनको बिक्रीस्थलका रूपमा पनि विकसित हुँदै गएका छन् । गढीडाँडा, सोलाभञ्ज्याङ, खनियाखर्कमा पुगेका पर्यटक अकबरे खुर्सानी, नून, लसुन र टिमुर मिसाएर तयार गरिएको स्थानीय अचारसँग हरियो काँक्रोको लामो चिरा चपाएर स्वाद लिन्छन् । कतिपय भुइँकटहर र नास्पातीको मिठासमा हराउँछन् । कोही मोबाइलमा यहाँको सौन्दर्यता कैद गर्न व्यस्त हुन्छन् ।

सिन्धुलीको गढी क्षेत्र मात्रै होइन्, जिल्लाको नौवटै पालिकामा पर्यटकीय सम्भावना प्रचुर छ । वरिपरि हरियाली वनजङ्गलले घेरिएको, चराचुरुङ्गीहरुको मधुर स्वर, निर्मल जल र जलमै फुलेका कमलका फूल—यी सबैले ऐतिहासिक तथा धार्मिक ‘पञ्चकन्या पोखरी’ क्षेत्रको सौन्दर्य अझ अनुपम बनाएको छ ।

प्रकृतिसँग रमाउन चाहने पर्यटकका लागि यो ठाउँ सदरमुकाम सिन्धुलीमाढीबाट पश्चिमतर्फ करिब २० किलोमिटरको दूरीमा पर्छ । मरिण गाउँपालिका–५ मा रहेको यस स्थल दृश्यावलोकनका लागि मात्र होइन, घुम्न आउने पर्यटकको मन लोभ्याउने गन्तव्यका रुपमा समेत चिनिन थालेको छ ।

यता सुनकोशी गाउँपालिका–५, मुल्कोट क्षेत्र पछिल्लो समय पर्यटकीय हबका रुपमा स्थापित हुँदै गएको छ । यहाँ रिसोर्ट, रेष्टुरेन्ट, होटल र सुनकोशीमा र्‍याफ्टिङ सुविधा उपलब्ध भएपछि मुल्कोट पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ ।

फिक्कल चुचुरो सिन्धुलीकै सर्वोच्च शिखर हो । यहाँ पनि पर्यटक मनोरम दृश्यावलोकनका लागि पुग्छन् । यहाँको सामुदायिक ‘होमस्टे’मा बसेर स्थानीय संस्कृति र ‘अग्र्यानिक’ परिकारको स्वाद लिन सकिन्छ । फिक्कल गाउँपालिकामा महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावतीबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

भिमान, सिन्धुलीमाढी बजार, भद्रकाली, खुर्कोट र मुल्कोट क्षेत्रका होटल, रिसोर्टहरु गर्मीको मौसममा चलायमान देखिन्छन् । गर्मीयाममा तराईबाट घुम्न आउने पर्यटकको चहलपहलले व्यापार, व्यवसायमा नयाँ ऊर्जा थपेको स्थानीय व्यवसायी गुञ्जन तामाङले बताउनुभयो । उहाँका अनुसार जिल्लाको व्यापार व्यवसाय राजमार्गका यात्रु र तराईबाट घुम्न आउने पर्यटकका कारण चलायमान छन् ।

गर्मीयाममा सिन्धुलीको शीतलतामा रमाउन आउने पर्यटक आगमनमा वृद्धि भएसँगै व्यापार र व्यवसाय फस्टाउन थालेको सिन्धुली उद्योग वाणिज्य सङ्घकी महिला सचिव सिर्जना श्रेष्ठको बुझाइ छ । तर, घुम्न आएका पर्यटकलाई दुई–चार दिन बस्न प्रेरित गर्ने पूर्वाधार र सुविधामा अझै सुधार आवश्यक रहेको उहाँको भनाइ थियो ।

सरकारको प्रवद्र्धन र व्यवसायीकहरूको सक्रियताले जिल्लाको पर्यटकीय क्षेत्र अझ आकर्षक र व्यवस्थित बन्दै जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सिन्धुलीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार सुधार, सेवासुविधा विस्तार र प्रचारप्रसारमा थप ध्यान दिन जरुरी छ । यसका लागि सबै पक्ष एकजुट भएर अगाडि बढ्न आवश्यक छ ।”

सिन्धुलीको प्राकृतिक सौन्दर्य, धार्मिकस्थल, सांस्कृतिक सम्पदा, ऐतिहासिकस्थल, ग्रामीण जीवनशैली र बगरमा गरिएको खेतीका दृश्यले पर्यटकलाई आकर्षित गर्दछ । तर, पैदल मार्गहरू नियमित प्रयोगमा नआएपछि जङ्गलले ढाक्न थालेका छन्, गोलञ्जोर, फिक्कल र कमलामाईमा करोडौँ खर्च गरेर बनेका भ्यू टावरहरू जीर्ण भइसकेका छन् । पुनःनिर्माण गरिएको ऐतिहासिक रानीदरबार उचित व्यवस्थापन नपाउँदा जीर्ण हुँदै गएको छ ।

पर्यटन प्रवद्र्धनका लागि केवल संरचना निर्माण पर्याप्त छैन । दीर्घकालीन संरक्षण, प्रभावकारी व्यवस्थापन र स्थानीय उत्पादन तथा सांस्कृतिक गतिविधिसँग जोड्नुपर्छ । यसरी गर्दा मात्र पर्यटकको बसाइ लामो हुनेछ र स्थानीय आम्दानी तथा रोजगारीमा पनि वृद्धि हुनेछ । सिन्धुलीमा गर्मीयाममा शीतलता, जाडोयाममा न्यानोपन, इतिहास, प्रकृति र सांस्कृतिक अनुपमको सङ्गम छ । यहाँ आउने जो–कोही पनि खाली हात फर्किंदैनन्, उनीहरू इतिहास, प्राकृतिक सौन्दर्य र स्मृतिको मीठो सँगालो लिएर फर्किन्छन् । रासस