५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार



अ+ अ-

गोरखा । ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा पनि गाउँले किसानहरुलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षका चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर । आफूजस्तै दिनरात श्रम गरेर खाने दाँैतरीहरुसँग उहाँको समय बित्छ ।

लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एक घर मात्र छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्दै आउनुभएको छ । घरले चर्चेको बाहेक कति पनि जग्गा नभएका उहाँलाई असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के । “थुक्ने जग्गा पनि आफ्नो छैन”, उहाँ भन्नुहुन्छ, “सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गामा सरकारले बनाइदिएको सानो घर र दुई/चारवटा कुखुरा छन् । त्यत्ति हो । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छ ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ रहेको छ । तीमध्ये गोरखाका चेतबहादुरको आठ सदस्य पनि विगत ४५ वर्षदेखि यही बसोबास गर्दै आएको छ । उहाँ २०३८ सालमा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आउनुभएको थियो । आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको चेतबहादुर बताउनुहुन्छ । ‘‘१० वर्षको हुँदा बा बित्नुभयो, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा’को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ”, उहाँले भन्नुभयो, “यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन् । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’ भनेपछि जानै पर्‍यो ।”

उहाँका दिदीबहिनी दुवैले तेह्रकिलो बजारमा बिहे गरेकाले आफूहरु पनि दिदीबहिनी नजिकै बस्न आएको उहाँले बताउनुभयो । “दुवैजनाले क्षेत्रीसँग बिहे गरेछन् । दिदीको बुढा गाडी चालक थिए, हामी पनि दिदीकै रेखदेखमा यहीँ बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर सवारी सहयोगीको काम गरेँ”, उहाँले भन्नुभयोे ।

खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरु नवलपरासी पनि पुगेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नहुन्छ, “यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनेपछि हामी आमा छोरा नवलपरासी पनि झर्‍यौँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दुःख मिल्यो । आमाले अरूको घरमा काम गर्नुहुन्थ्यो । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न मन लागेन, अनि एक वर्षपछि तेह्रकिलोमै फर्कियौँ । म यहाँ आको केही वर्षपछि आमा पनि फर्किनुभयो ।”

चेतबहादुरले २०–२२ वर्षको उमेरमा नजिकैको पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गर्नुभयो । बिहेपछि पैसा कमाउने लालसाले दुईपटक कतार र एकपटक साउदी पनि पुग्नुभयो । चेतबहादुर र कमलाको दुई छोरा र एक छोरी छन् । उहाँहरुको जेठो छोरो अनिल अर्काको गाडी चलाउँछन्् । छोरी अनिता तेह्रकिलोकै मगर परिवारमा बिहे गरेर गएकी छिन् भने कान्छो छोरो अशोक हाल वैदेशिक रोजगारीमा छन् । हाल उहाँको परिवारमा दुई छोरा, बुहारीहरु, तीनजना नाति र एक नातिनी छन् ।

हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको उहाँले बताउनुभयो । उहाँलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै । न उहाँले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ गरेका छन् । गोरखा दरबार सङ्ग्रहालयमा आफ्नो जातिको डमी राखेको देखेर भने उहाँ खुसी हुनुहुन्छ । ‘‘अन्ततिरको कुसुन्डाहरुले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउबाजेसँग सङ्गत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिको बारेमा केही थाहा हुन्थ्यो होला”, उहाँले भन्नुभयो । आफूहरुले अरू हिन्दूहरुसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “दसैँ, तिहार सबै मनाउँछौँ । अरूहरुले सरह नै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौं । हाम्रो कुलायन पूजामा चाहिँ भाले चढाउनु पर्छ ।” रासस