सुर्खेत । सामुदायिक विकास केन्द्र नेपालले सुर्खेतमा बसोबास गर्ने बादी समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।
बादी समुदायका बालबालिकाहरूलाई शैक्षिक क्षेत्रमा पहुँच दिलाउने उद्देश्यसहित सामग्री वितरण गरिएको सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष राधिका मताङ्गीले जानकारी दिइन्। उनका अनुसार विरेन्द्रनगर–११ धुलियाविटस्थित शिव माध्यमिक विद्यालयमा अध्ययनरत बादी समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
मताङ्गीले भनिन्, “बादी समुदायका बालबालिकाले पनि समान अवसर पाउनुपर्छ भन्ने सोचका साथ यो पहल गरिएको हो। शिक्षा नै उनीहरूको भविष्य परिवर्तन गर्ने आधार बन्न सक्छ भन्ने हाम्रो विश्वास हो।”
कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, बाँके र बर्दियामा मुख्य रूपमा बसोबास गर्ने बादी समुदाय अझै पनि पछाडि परिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा यस समुदायका बालबालिकालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

यस समुदायले अझै पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त पहुँच बनाउन नसकेको कारण सहयोग गरेको र यसलाई निरन्तरता दिने संस्थाका उपाध्यक्ष रेशम नेप्किङले जानकारी दिनुभयो ।
परम्परागत रूपमा बादी समुदाय संगीत, नाच–गान र वाद्यवादनमा दक्ष मानिन्छ। विगतमा दरबार र जमिन्दारका लागि मनोरञ्जन दिने परम्परा रहेपनि लामो समयसम्म छुवाछूत र सामाजिक विभेदको मारमा पर्नुपरेको थियो। अहिले धेरैजना बादीहरू कृषि, मजदुरी र स्वरोजगारमा संलग्न भए पनि शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा भने अझै पछि परिरहेका छन्।










