१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेश पठाइदिने भन्दै लाखौं ठगी गर्नेहरु पक्राउ



अ+ अ-

काठमाडौं: काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनी लाखौं ठगी गरेको आरोपमा तीन जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी एवं एसपी काजी कुमार आचार्यका अनुसार, पक्राउ गरिएका व्यक्तिहरुले पीडितहरुसँग पैसा लिएर लामो समयदेखि फरार रहेका थिए ।
पक्राउ परेकाहरुमध्ये ओखलढुंगाको सिद्धिचरण—६ स्थायी घर भएका सन्दीप मगर भन्ने बम बहादुर मगरले एक व्यक्तिलाई रोमानीया पठाइदिन्छु भन्दै रकम लिएर फरार भएका थिए ।

त्यस्तै, काठमाडौं—७ बस्ने गीता माया मगरले चार जनासँग २० लाख २४ हजार लिएर फरार भएकी थिइन् । यसैगरी, रौतहटको देवाही गोनाही—५ स्थायी बसोबास रहेका विन्देश्वर राय यादवले एक व्यक्तिलाई मौरिसस पठाइदिन्छु भन्दै तीन लाख ६० हजार लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले थप अनुसन्धान र कार्यबाहीका लागि बैदेशिक रोजगार विभाग, ताहाचल पठाएको पनि सूचना अधिकारी आचार्यले बताउनु भएको छ ।

यसैबीच, बैंकिङ कसुरका दोषी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका—१२ स्थायी घर भएका गोकुल श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ । उनीमाथि एक करोड ७५ लाखको बिगो कायम भएको छ ।