काठमाडौं ।नेपाल र अमेरिकी सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको एमसीसी नेपाल कम्प्याक्ट सम्झौताको विद्युत् प्रसारण आयोजनाअन्तर्गत एमसीए-नेपालले आज दुई ठूला ठेक्का सम्झौतामा हस्ताक्षर गरेको छ ।
एमसीए-नेपाल, एन्जेलिक-स्किपर जेभी र वाइबा-सलासर जेभीबिच भएको ठेक्का सम्झौता हस्ताक्षर समारोहमा एमसीसीका कम्प्याक्ट अपरेशन विभागका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गल, अर्थ सचिव घनश्याम उपाध्याय, कार्यवाहक अमेरिकी
राजदूत जेसन मिक्स, एमसीसीका आवासीय देशीय निर्देशक डायान फ्रान्सिस्को र एमसीए-नेपालका कार्यकारी निर्देशक खड्ग विष्ट उपस्थित हुनुहुन्थ्यो । झन्डै १५ करोड ४५ लाख अमेरिकी डलर मूल्य बराबरका यी ठेक्का सम्झौताअन्तर्गत रातमाटेदेखि न्यू दमौली र न्यू दमौलीदेखि न्यू बुटवलसम्मको अनुमानित कुल २९७ किलोमिटर प्रसारण लाइनमध्ये १८० किलोमिटर प्रसारण लाइनको डिजाइन, जडान, परीक्षण र निर्माण गरिनेछ ।
एमसीसीका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गलले कार्यान्वयन साझेदारहरूलाई बधाई दिँदै यस प्रसारण लाइन नेपालको विकासका लागि महत्त्वपूर्ण कोसेढुङ्गा रहेको कुरामा जोड दिँदै यसले देशभरि विद्युत्को प्रभावकारी प्रवाह सुनिश्चित गर्ने, नेपाली घरपरिवार, उद्योग र उद्यमका लागि विद्युत्को मूल्य सस्तो बनाउने र नेपालका लागि घरेलु र क्षेत्रीय रूपमा बलिया आर्थिक वृद्धिका अवसरहरू सिर्जना गर्ने कुरा बताउनुभयो ।











