काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौँ आइपुग्दैछन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिन उनी नेपाल आउन लागेका हुन् ।
उनी काठमाडौँ आए लगत्तै प्रधानमन्त्री ओलीलाई भेटेर सो निमन्त्रणा दिने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । साथै यसै भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेण्डाहरुका विषयमा पनि कुराकानी हुने बताइएको छ ।
ओली प्रधानमन्त्री भएको बर्ष दिनपछि तय भएको यो भ्रमणका क्रममा नेपाल र भारतबीच केही सहयोग परियोजना एवं अन्य विषयहरुमा सम्झौता हुने बताइएको छ । ती एजेण्डका बारेमा उनले आइतबार नै परराष्ट्रमन्त्री डा आरजु राणा र सचिव अमृत राइसँग आवश्यक छलफल एवं परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री ओली आगामी भदौको ३१ गते दुई दिने भारत भ्रमणमा जान लागेका छन् । सो भ्रमणका एजेण्डाका बारेमा मिश्रीको यसै भ्रमणका क्रममा कुराकानी हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार मिश्रीले यस भ्रमणका क्रममा प्रधानमन्त्री ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने भएका बताइएको छ । साथै सो भ्रमणका क्रममा उनले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् ।
यसअघि नै प्रधानमन्त्री ओलीले भारत सरकारबाट भदौ ३१ र असोज १ गते भारतको भ्रमण गर्नेगरी अनौपचारिक निमन्त्रणा पाइसकेको भए पनि औपचारिक निमन्त्रण लिएर विदेश सचिव नेपाल आउन लागेका हुन् ।










