नुवाकोट। सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) का प्रहरी निरीक्षक पप्पु यादवलाई यही भदौ १० गते बिहान ९ः२६ बजे प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतको फोन आयो, “त्रिशूलीमा ठूलो बाढी आउँदै छ, कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नु र आफू पनि सुरक्षित हुनु ।”
रसुवाको भोटेकोशी नदीमा आएको बाढीसम्बन्धी त्यो सूचना आउँदा प्रहरी निरीक्षक यादव नियमित काममै हुनुहुन्थ्यो । सशस्त्र प्रहरी बलका तर्फबाट कारागारको नेतृत्व उहाँले नै गरिरहनुभएको थियो । नेपाल प्रहरीको नेतृत्व भने प्रहरी नायब निरीक्षक श्रीकृष्ण सुवेदीले गरिरहनुभएको थियो ।
उक्त सूचनापछि दुवै निकायका ५२ सुरक्षाकर्मीमा ‘हाइ अलर्ट’ जारी भयो । कारागारको ब्लक एक र दुईमा रहेका ५०५ कैदीबन्दीलाई तत्कालै कारागार क्षेत्रभित्र नै सुरक्षित एसेम्बली प्वाइन्टमा ल्याइयो ।
“हामीले कैदीबन्दीलाई जसै एसेम्बलीमा ल्यायौँ, नदी किनारभन्दा अन्दाजी १०० मिटर टाढाको कारागार भवनमा बाढीको पहिलो धक्का लाग्यो”, सशस्त्र प्रहरी बलका इन्चार्ज प्रहरी नायब निरीक्षक यादवले भन्नुभयो । उहाँका अनुसार बाढी आइसकेपछि कैदीबन्दीमा थप त्रास फैलियो, उनीहरु पनि तितरबितर हुन थाले ।
नेपाल प्रहरीका कारागार इन्चार्ज सुवेदीका अनुसार कारागारका कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्ने कार्यसँगै सोही भवनमा रहेको हातहतियार पनि पनि सुरक्षित गर्न थालिएको थियो । उहाँले भन्नुभयो, “यत्तिकैमा बाढी आयो, कैदीबन्दी, हातहतियार र आफूबाहेक अरु जोगाउन पाएनौँ ।”
हिलो र ग्रेग्यानसहितको बाढी कारागारसम्म आइपुग्नुभन्दा अगाडि करिब डेढ किलोमिटर माथिको २५ मेगावाटको नुवाकोट सौर्य परियोजनामा प्रहार गरिसकेको थियो । कारागारको हाइपोस्टबाट त्यो भयानक दृश्य नियालिरहेका सुरक्षाकर्मी अताल्लिए । त्यो खबर कारागारमा फैलन समय लागेन । त्यो दृश्य देखिरहेका केही सुरक्षाकर्मीलाई बाढीले कुन तहको प्रलय ल्याइरहेको छ भन्ने बुझ्न कठिन भएन । बाढी कारागारमा प्रवेश गर्नुअघि छेवैको कारागारको प्रशासनिक भवन प्रवेश ग¥र्यो । त्यसपछि प्रहरीको प्रशासनिक भवन हुँदै कारागारको कैदीबन्दी भवनलाई बाढीले धक्का दियो ।
“कारागारको भवनमा ठूलो क्षति हुन पाएन, त्यसको एउटा कारण छ, कारागारभन्दा बाहिरका दुई वटा पेरिमिटर पर्खाल”, इन्चार्ज यादवले भन्नुभयो, “यदि बाढी कारागारको भवनमा सिधै ठोक्किएको भए ठूलो जनधनको क्षति हुने थियो, तर प्रशासनिक भवन र नेपाल प्रहरीको भवन हुँदै दुई वटा पेरिमिटर पर्खालमा ठोक्किँदा त्यसको गति कम भयो, यसले क्षति कम गरायो ।”
उहाँका अनुसार बाढीका कारण दुई वटा पेरिमिटर पर्खालको केही हिस्सा भत्किएर कारागारको ब्लक १ र २ मा पानी पसेको छ । दुई वटा पेरिमिटर पर्खालबीचको दूरी करिब दुई मिटर छ । बाढीले एक एक गरी दुईवटै ती पर्खाल भत्काएर कारागार भवनसम्म ठोक्किँदा सायद त्यसको गति निकै कम भइसकेको थियो । त्यसैले कारागार भवन र परिसरमा भेल पसे पनि ठूलो नोक्सानी छैन ।
बाढीबाट कैदीबन्दी जोगाएपछि पनि सुरक्षाकर्मीका चुनौती सकिएनन् । अब कैदीबन्दीले आन्दोलन गर्न थाले । त्रिशूली नदीमा भीषण बाढीसँगै कारागारभित्र कैदीबन्दी उर्लिन थाले । कारागार परिसरमा ९२३ कैदीबन्दीको ज्यान जोगाउँदै उनीहरुलाई शान्त बनाउनका लागि ५२ सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । पचास भन्दा बढी कैदीबन्दी मूल गेटभन्दा बाहिर नै आए । उनीहरुले त्यहाँ ठूलो होहल्ला गरे । भीड नियन्त्रण लिन इन्चार्ज यादवले ११ राउण्ड हवाई फायर गर्नुभयो ।
कैदीबन्दीलाई मूल गेटभन्दा बाहिर नै आएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनुप गुरुङको नेतृत्वमा थप जनशक्तिले साथ दियो । बाढीको त्रास सकिएपछि कारागारभित्र प्रवेश गर्ने समयमा दुई जना कैदीबन्दी भाग्न थाले ।
“हामी त्यहाँ पुग्दा कैदीबन्दी हामीलाई बाढीबाट ज्यान बचाउँछौँ, भाग्दैनौँ भन्दै थिए, यद्यपि हामीहरु सतर्क थियौँ, यत्तिकैमा दुई जना खेतैखेत जङ्गलतर्फ भाग्न थाले, मैले नै दौडिएर उनीहरुलाई दिउँसो ११ः०० बजेतिर पक्राउ गरी फर्काएर ल्याएँ”, उहाँले भन्नुभयो ।
दिउँसो ११ः३० बजेसम्म बाढी शान्त भइसकेको थियो । कैदीबन्दीलाई कारागारभित्रै व्यवस्थापन गरियो । बाढी सकिए पनि त्रास अझै सकिएको छैन । त्यहाँ कार्यरत सुरक्षाकर्मीका अनुसार त्रिशूली नदीमा बाढीको जोखिम अझै पनि छ । त्यसमाथि बाढीले कमजोर बनाएको पूर्वाधार पनि सुरक्षित छैन ।
बाढी आएको पर्सीपल्ट अर्थात् भदौ १२ गते कारागारमा रहेका ३२ महिला कैदीबन्दीलाई मकवानपुरको भीमफेदीमा स्थानान्तरण गरियो । अहिले कारागारमा बालसुधार गृहका १३८ जनासहित ८८७ कैदीबन्दी छन् । सशस्त्र प्रहरी बल, नेपालका थप ३० जना जनशक्ति थपिएर कुल ६२ जना पुगेका छन् भने नेपाल प्रहरीका २० जना कार्यरत हुनुहुन्छ ।
बाढीका कारण एउटा दुई वटा ब्लक प्रभावित भएपछि हाल कैदीबन्दी र बालसुधार गृहका बालसुधारमा रहेकालाई एउटै युनिटभित्र दुई वटा ब्लकमा राखिएको छ । सुरक्षाका हिसाबले पनि जोखिमपूर्ण हुने भएकाले यसमा पनि सुधारको आवश्यक भएको त्यहाँ कार्यरत सुरक्षाकर्मीहरु बताउनुहुन्छ । हाल कारागारको प्रशासनिक भवन त्रिशूली नदी किनारबाट सुरक्षित स्थानमा सारिसकिएको छ । रासस









