मुस्ताङ। नेपाल-चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट (वनस्पति) क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएको छ ।
मुस्ताङ भन्सार भन्सारका लागि छ जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले तीन जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण (रसुवागढी-केरुङ) नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरला नाकास्थित भन्सार कार्यालयका लागि छ जना कर्मचारी काजमा पठाउने तयारी गरिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो । उहाँका अनुसार भन्सार विभागले तीन अधिकृत र तीन जना नायब सुब्बास्तरका कर्मचारी भन्सार कार्यालयमा पठाउने तयारी गरेको हो ।
“तीन/तीन जना अधिकृत र नायब सुब्बा खटाउने तयारी भइसकेको छ, लगातारको बिदाले उहाँहरू आउन ढिलाइ भएको हो”, भन्सार प्रमुख चुडालले भन्नुभयो, “कार्यालय खुल्ने दिनमै खटाइएका कर्मचारी रवाना लिएर कार्यस्थलमा आइपुग्नु हुन्छ ।” उहाँका अनुसार मुस्ताङ भन्सार कार्यालयमा १८ जनाको दरबन्दी छ ।
हाल मुस्ताङ भन्सारमा १२ जना मात्रै कर्मचारी छन् । रसुवागढी-केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी पदपूर्ति गर्न लागेको हो । रसुवागढी र तातोपानी नाका पूर्णरुपमा बन्द भएसँगै मुस्ताङको कोरला नाका वैकल्पिक मार्गका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
रसुवागढी-केरुङ नाका बन्द भई रोकिएका सामग्रीलाई कोरला नाकातर्फ फिर्ता पठाउन लागिएपछि मुस्ताङ भन्सार र क्वारेन्टाइन कार्यालयलाई सक्रिय बनाउन थालिएको भन्सार प्रमुख चुडालले उल्लेख गर्नुभयो । थप कर्मचारी खटाउन लागिए पनि आवास तथा भौतिक पूर्वाधारको समस्या हुँदा व्यवस्थापनमा चुनौती देखिएको उहाँले बताउनुभयो ।
“कोरला नाका पूर्ण रूपमा सञ्चालन नभई उपल्लो मुस्ताङका नागरिकलाई मात्रै अन्तदेशीय अल्पकालीन हाटबजार लाग्दा मात्रै बर्सेनि दुई पटक सीमित समय भन्सार कार्यालय सक्रिय हुन्थ्यो । सोसमयमा कम कर्मचारी मात्रै भन्सारमा हुन्थे । विसं २०८२ भदौ ३१ गते मुस्ताङको कोरलालाई वैकल्पिक नाकाका रूपमा सञ्चालन गरिएसँगै भन्सारमा जनशक्ति थप गरिएको हो”, उहाँले भन्नुभयो ।
नाकामा क्वारेन्टाइन कार्यालय विसं २०६२/६३ मा स्थापना गरिएको थियो । क्वारेन्टाइन कार्यालय स्थापना भए पनि कार्यालयका चाहिने दरबन्दी अनुसारको जनशक्ति र क्वारेन्टाइन परीक्षण गर्ने उपकरण नहुँदा सहज तरिकाले सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । न्हेचुङमा रहेको क्वारेन्टाइन कार्यालयमा पाँच जनाको दरबन्दी रहेपनि एक जना प्राविधिक सहायक कार्यरत छन् ।
रसुवाको भोटेकोशी बाढीका कारण (रसुवागढी-केरुङ) नाका बन्द भएको र तातोपानी नाका सञ्चालनमा आउन नसकेपछि मुस्ताङमा रहेको क्वारेन्टाइन कार्यालयलाई सक्रिय बनाउन थालिएको प्रमुख चुडालले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार रसुवागढी-केरुङ नाकाबाट कोरला नाकातर्फ पठाइएका सयाैँ कन्टेनरमा रहेका फलफूलको क्वारेन्टाइन परीक्षण गर्नुपर्ने भएकाले कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले केही कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ ।
मुस्ताङको लोमान्थाङ-४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयकी निमित्त प्रमुख एवं प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार क्वारेन्टाइनका लागि तीन जना कर्मचारी जोमसोम आइपुगेका जानकारी दिनुभयो । केन्द्रले भन्सार विभागको समन्वयमा वरिष्ठ बाली सरक्षण अधिकृत (एक) र कम्प्युटर अपरेटर (एक) जना कर्मचारी काजमा मुस्ताङ पठाएको निमित्त प्रमुख घर्तीमगरले उल्लेख गर्नुभयो ।
भन्सार प्रमुख चुडालले क्वारेन्टाइनका लागि आउने कर्मचारीको आवश्यक समन्वय गर्नु भन्ने विभागबाट जानकारी प्राप्त भइसकेको बताउनुभयो । योसँगै मुस्ताङ भन्सार कार्यालय र यहाँ रहेको क्वारेन्टाइन कार्यालयको कार्यसम्पादन थप गतिशील हुने देखिएको छ ।
उहाँका अनुसार रसुवागढीनाका बन्द भएपछि कोरला नाकातर्फ मालवस्तु पैठारीका लागि दैनिक ५० भन्दा बढी कन्टेनर यसतर्फ आइरहेका छन् । रासस









