१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत अघि चीन जाँदै प्रधानमन्त्री,भदौ १८ मा चिनियाँ राष्ट्रपतिसँग भेट



अ+ अ-

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन जाने भएका छन् । भदौ १८ सम्म चार दिने चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले १८ गते चिनियाँ राष्ट्रपतिसँग पनि भेटघाट गर्ने भएका हुन् ।

यही अगस्त ३१ देखि सेप्टेम्बर १ सम्म चीनको तियानजिन शहरमा आयोजना हुन लागेको सांघाई अर्गनाइजेशन (एससीओ) को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री चीन जान लागेका हुन् । सम्मेलनलाई प्रधानमन्त्री ओलीले बिशिष्ट वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली सेप्टेम्वर ३ मा अर्थात् भदौ १८ मा राष्ट्रपति सी जिनपिंगले आयोजना गर्ने दिवा भोजमा सहभागी हुने र सोही दिन काठमाडौँ फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले प्रधानमन्त्री ओलीको भ्रमणको तयारी तीव्र पारेको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिंगसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको पनि जनाइएको हो । नेपाल सन् २०२० देखि एससीओको संवाद साझेदारको रूपमा रहँदै आएको छ ।

एससीओमा बेलारुस, चीन, भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० देश छन् । एससीओमा नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेयिबा र युएईसहित १४ देशहरू संवाद साझेदार हुन् । एससीओको शिखर सम्मेलनमा नेपालबाट पहिलो पटक उच्चस्तरको सहभागिता हुन लागेको हो ।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् । सम्मेलनमा चीनले मोदीको सहभागितालाई उच्च प्राथमिकता दिएको छ । यसका साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित सदस्य राष्ट्रका शीर्ष नेताहरू सहभागी हुनेछन् । प्रधानमन्त्री आगामी भदौको अन्तिममा भारतको औपचारिक भ्रमणमा जान लागेका छन् । त्यस अगावै उनको चीन भ्रमण पनि तय भएको हो ।