१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको कुनैपनि देशमा कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था छैनः सांसद नेम्वाङ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनैपनि देशमा नभएको कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताउनुभएको छ ।

बुधवार बसेको कानून न्याय तथा मानवअधिकार समितको बैठकमा उहाँले नेपालमा यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको समेत बताउनु भयो । उहाँले कारागारमा कैदीबन्दीलाई नै नाईके, भाईनाईके चौकीदार राख्ने व्यवस्थाको बारेमा जानकारी पाएपछि आफूले अन्य देशका कानूनहरुको खोजी गरेको बताउनु भयो । तर कुनैपनि ठाउँमा कानूनी व्यवस्था नै गरेर कारागारमा नाईके, भाईनाईके र चौकीदार राखिएको नपाईएको उहाँले जानकारी दिनुभयो । नेपालमा भने यसलाई कानूनी मान्यता नै दिएर राखिएको उहाँको भनाई छ ।

कारागार सम्बन्धी नियमावलीको दफा ५३ मा यसको व्यवस्था गरिएको उहाँले बताउनु भयो । कानून बनाउने, नियमावली निर्माण गर्ने त्यहाँभित्र व्यवस्थापन गर्न सहजिकरण हुने सोचेर बनाएको हुनसक्ने भन्दै उहाँले तर यसले विकृति ल्याएको बताउनु भयो । नाईके, भाईनाईके चौकीदारहरुले कारकारभित्र सबैलाई दमन गरेर राख्ने गरेको पाइएको उहाँको भनाई छ । अझ उनीहरुलाई थप सेवा सुविधा समेत उपलब्ध गराईने गरेको पाईएकोले आफु अलिअलि आश्चर्यमा परेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन तरिकाको नाईके, भाईनाईके चौकीदारको कुरा छ । मैले विश्वको धेरै ठाँउहरुको रिर्सच गरे । कुनैपनि ठाउँमा कानून नै लेखेको चाहीँ छैन । तर हाम्रो नियमावलीमा दफा ५३ मा यसको व्यवस्था गरिएको रहेछ । हुनत कानुन बनाउनेले, नियमावली निर्माण गर्नेले सोचेर नै गर्नुभयो होला । उहाँको आसय के थियो होला त भन्दाखेरी त्यहाँभित्र व्यवस्थापन गर्न सहजिकरण हुन्छ है भनेर बनाउनुभएको होला । तर यसले एउटा विकृति ल्याएको छ । यहाँ नाईके, भाईनाईके चौकीदाहरुले यस्तो तरिकाले त्यहाँ भित्र दमन गरेर राखेको कुराहरु पनि हामीले सुन्नमा आएको छ । त्यही कारणले गर्दाखेरी हामी सबैले जुन नियमावली बनाएका छौँ, त्यहाँबाट उनीहरुलाई हामीले निश्चित सेवा सुविद्या दिईरहेका रहेछौँ भन्ने कुरा जब मैले थाहा पाए, त्यसले गर्दाखेरी म अलिअलि यसमा आश्चर्य छु ।’  

उहाँले कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने व्यवस्थालाई पुनःविचार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कैलाली कारागारको घटना आकस्मिक रुपमा नभएको पनि बताउनु भयो । त्यसअघि पनि त्यहाँको कारागारको सुरक्षा, व्यवस्थापनको बारेमा पटक पटक प्रश्न उठ्ने गरेको उहाँले जानकारी दिनुभयो ।