काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्याय र मानव अधिकारको यात्रामा कुनै आवाज उपेक्षित हुन नहुने बताउनुभएको छ ।
ललितपुरमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वन तथा वातावरण मन्त्रालयले लैङ्गिक समानतालाई वातावरणीय नीति र जलवायु कार्यमा मुख्य आधारमा ल्याउन प्रतिवद्ध रहेको बताउनु भयो । त्यसका लागि प्रयास र प्रक्रिया अघि बढिरहेको बताउनु भयो । युवाहरुको नवप्रवर्तनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबीचको साझेदारी निर्माण गर्न हामी लागिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वन तथा वातावरण मन्त्रालयले लैङ्गिक समानतालाई वातावरणीय नीति र जलवायु कार्यमा मुख्य आधारमा ल्याउन प्रतिवद्ध छौँ । त्यसको प्रयास र प्रक्रियाहरु भइरहेको छ । युवाहरुको नवप्रवर्तनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबीचको साझेदारी निर्माण गर्न हामी लागिरहेका छौँ । आजका युवाहरु भोलिका नेताहरु मात्र होइनन्, आज नै नेतृत्व गरिरहेको महशुस गरेको छु । युवाहरुको विचार, उर्जा र शाहसले नेपालको हरित न्यायपूर्ण र समावेशी भविष्यतर्फको यात्रा सुचारु भएको छ । आउनुस्, हामी मिलेर काम गरौँ । जलवायु न्याय र मानव अधिकारको यात्रामा कुनै आवाज उपेक्षित नहोस्, कुनै आवाज खेर नजाओस् ।’
मन्त्री ठकुरीले आजका युवाहरुले अबको नेतृत्व लिनुपर्ने बताउनु भयो ।









