काठमाडौँ । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले गाउँमा रहेको बाँझो खेतबारीलाई कसरी उर्बर गराउने भन्ने ठोस नीति सरकारले ल्याउनुपर्ने बताउनुभएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले समस्या आँैल्याउने मात्रै नभई समाधानको उपाय खोज्न पनि विज्ञहरुलाई आग्रह गर्नुभएको हो । गाँउघरमा खेतबारी बाँझो छ, विद्यालयमा विद्यार्थी छैनन् भन्ने समस्या सबैलाई थाहा रहेको तर त्यसको समाधान कसरी गर्ने भन्ने सुझाव दिन विज्ञहरुसंँग आग्रह गर्नुभएको हो । तीन वटै सरकारले समस्या समाधान गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले अबका दिनहरुमा समस्या के छन् भन्ने कुराहरु करिव करिव बुझेका छौँ । समाधानका कुरा के हुन त ? अहिले पनि विद्यालयमा विद्यार्थी भएनन् भन्ने कुराहरु सबैबाट भनेका छौँ । किन भएनन् अलि अलि आएको छ तर गुदी कुरा त्यहाँ भित्र आएको छैन । खेतबारी बाँझा छन् भन्ने कुरा आएको छ, त्यो बाँझोलाई के गर्ने भन्ने ठोस आउनुप¥यो । समस्या त जहिले पनि जसले पनि ल्याउन सक्या छ तर समाधानको लागी यी यी कुराहरु अब हामीले गर्नुपर्ने, अब स्थानीय सरकार वा पालिकाहरुले गर्नुपर्ने के हो ? कसरी गर्ने ? त्यहाँ दिशानिर्देश भो भने उहाँहरुलाई पनि धेरै ठूलो फिडब्याक हुन्छ र भोलीका योजनाहरुमा त्यो समेट्न सक्नुहुन्छ । त्यसकारण त्यो ढंगले आओस, संघ प्रदेशले कति सुन्लान्, पालिकाले त पक्कै सुन्लान् नी आफ्नो ठाउँमा गर्न खोजेको । संघ प्रदेशलाई पनि यसले सर्पोट हुन्छ ।’
उहाँले हाल गाउँमा विकास भएपनि त्यसको उपभोग गर्ने मान्छे नभएको बताउनु भयो । गाउँमा विकास पुगेपनि मान्छेहरु भने शहर केन्द्रित भएको उहाँको भनाई छ । सरकारले गाउँमै फर्काउने र सुविधाको उपयोग गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले त के देशव्यापी रुपमा के भएको भने विकास गाँउमा गएको छ मान्छे शहरतिर गएको छ, विदेशतिर गएको छ । पहिला फेरि विकास शहरमा थियो, मान्छे हामी गाउँमा भरिभराउ थियौँ । अहिले गाउँमा मोटरबाटो गएको छ, बिजुली गएको छ, खानेपानी गएको छ । धेरै भएन भन्दाभन्दै पनि धेरै भएको छ । तर त्यो उपभोग गर्ने मान्छे छैनन् । र विकासको दृष्टिकोणले हेर्ने हो भने प्रतिफल लिनको लागी गर्ने हो भने त्यो उपयोग नगर्दा घाटामा गएको छ ।’
उहाँले गाउँमा प्रशस्त विकास भएको बताउनु भयो ।










