१ भाद्र २०८३, सोमबार
,
Latest
चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुरको गैँडाकोटमा चियाको परीक्षण खेती



अ+ अ-

नवलपुर, (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा चिया खेती सुरुआत गरिएको छ । गैँडाकोट–१८ को बसेनी गाउँमा परीक्षणको रूपमा चिया खेती सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले १८ वडा रहेको यस पालिकाको पहाडी क्षेत्रमा पर्ने बसेनी गाउँमा परीक्षणका लागि सात हजार ५०० चियाको विरुवा लगाइएको बताउनुभयो । पहाडी क्षेत्र भएकाले यहाँको भूगोल र हावापानी उपयुक्त भएकाले परीक्षणका लागि चिया खेती सुरु गरिएको उहाँको भनाइ छ । “गैँडाकोटको यो १८ नम्बर वडा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान हो” उहाँले भन्नुभयो, “यसै वर्षदेखि यहाँ पूर्वाधार विकास गरेर भविष्यमा बसेनीलाई पर्यटकीय गाउँको रूपमा विकास गर्ने नगरको योजना छ ।”

गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट नगरपालिका प्राकृतिक रूपमा सुन्दर र हावापानीले विविधताले भरिपूर्ण पालिका भएको बताउनुभयो । हाल व्यक्तिगत र सामुदायिक रूपमा बसेनीमा चिया खेती गरिएको उहाँको भनाइ छ । “अहिले हामीले परीक्षणका रूपमा चिया खेती सुरु गरेका छौँ” उहाँले भन्नुभयो, “यसले राम्रो उत्पादन दियो र स्थानीय आकर्षित भए भने हामीले खेती बिस्तार गर्ने योजना बनाएका छौँ ।”

गैँडाकोटमा पर्ने पूर्वपश्चिम राजमार्गबाट आधा घण्टाको दूरीमा नै चिसो हावापानी र बाह्रै महिना जाडो हुने क्षेत्र रहेको भन्दै उहाँले गर्मी र जाडो दुवै हावापानी भएकाले यहाँ पर्यटकीय सम्भावना रहेको बताउनुभयो । बसेनीमा चिया खेती गरेर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको कोइरालाको भनाइ छ । बसेनीमा चिया बगान, सुन्तला खेती बिस्ता, घरबास ९होमस्टे० सञ्चालन गरी पर्यटकीय क्षेत्र बनाउने अवधारणाअनुसार आफूहरु अगाडि बढेको उहाँले बताउनुभयो ।

गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले गैँडाकोटको बसेनीमा चिया उत्पादन गरेर बिक्री गर्नभन्दा पनि पर्यटकीय दृष्टिकोणले खेती गरिएको बताउनुभयो । यसैवर्षदेखि यहाँ होमस्टे निर्माण गर्ने योजना रहेको जनाउँदै शर्माले होमस्टेमा आउने पर्यटकलाई लक्षित गरेर उपहारका लागि चियाको ब्राण्डिङ गरिने बताउनुभयो । चिया बगान हेर्न इलाम नै जानुपर्ने अवस्थाको अन्त्य गर्न र यहाँको पर्यटन प्रवद्र्धन गर्न चिया खेती सुरु गरिएको उहाँको भनाइ छ ।

“अहिले यस क्षेत्रबाट ठूलै सङ्ख्यामा पर्यटक इलाम जाने गर्नुभएको छ” उहाँले भन्नुभयो, “इलाम जाने पर्यटकलाई गैँडाकोट भित्र्याउने र उहाँहरुलाई घरमा जाने बेलामा उपहार दिने गरी चियाको खेती सुरु गरेका छौँ ।” गैँडाकोटमा आएर बस्ने पर्यटकलाई ‘मायाको चिनो’स्वरुप गैँडाकोटको चिया र स्थानीय उत्पादन कोसेली पठाइउने योजना रहेको शर्माले सुनाउनुभयो । जिल्लाकै विकट गाउँको रूपमा रहेको यस वडामा पछिल्लो समय विकास निर्माणका पूर्वाधार निर्माण हुँदै गएपछि आवागमन समेत सहज भएको उहाँको भनाइ छ ।

गाउँमा गरिएको चिया खेतीको सुरुआती तरणमा बसेनी टोल सुधार समितिले रेखदेख गर्ने र वडा कार्यालयले संरक्षण गर्नेगरी खेती सुरु गरिएको शर्माले बताउनुभयो । उत्पादन सुरु भएपछि र स्थानीय खेतीमा आकर्षित भएपछि चिया खेती उपभोक्ता समूह बनाएर चिया बगान नै उनीहरुलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको शर्माको भनाइ छ । अहिले सुरु गरिएको चिया खेतीबाट दुई वर्षभित्र उत्पादन लिन सकिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । रासस