४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम उमेरका एकल महिलालाई सीप सिकाएर रोजगारी दिनुपर्छः सांसद कुसारी



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले काम गर्नसक्ने उमेर भएका एकल महिलाहरुलाई भत्ता दिने नभइ सीप सिकाइ रोजगारी दिनुपर्ने बताउनुभएको छ ।

बिहीवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकल महिलाहरुको हकमा भत्ता दिनेमात्रै काममा सरकार लालयित भएको आरोप लगाउनु भयो । उहाँले एकल महिलाहरु २० वर्षदेखिका समेत रहेको भन्दै उनीहरुलाई काम सिकाएर रोजगारी दिन जरुरी रहेको बताउनु भयो । त्यसमा सरकार गम्भीर हुन नसकेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘एकल महिलाको हकमा भत्ता दिनमात्रै लालयित भयौँ । एकल महिला त २० वर्षदेखिका पनि छन् । उनीहरु श्रम गर्ने उमेर हो । युवा बेलामा पनि एकल महिला हुँदा सीप दिएर रोजगारी दिने की भत्ता दिएर मात्रै उनीहरुलाई राख्ने । राज्य त्यसमा गम्भीर नभएको देखियो । ठोस उपलब्धि जिरो छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद जावेदा खातुन जागाले मानव सेवा आश्रममा अभिभावक भएका बालबालिकाहरु पनि पाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले त्यसको कारणहरु गरिबी रहेको भन्दै सरकारले त्यस्ता बालबालिकाहरुका लागि सुरक्षा भत्ता दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मानव सेवा आश्रममा अभिभावक भएका बालबालिकाहरु पनि पाइयो । त्यो अब के कारणले हो ? आश्रमका आयोजकहरुले गरिबीका कारणले अभिभावकले छोडेको भन्ने आयो । त्यस्तो बालबालिकाहरुले कुनै किसिमको सुरक्षा भत्ता पाएका छैनन् । त्यसमा गम्भीर हुन आवश्यक छ । बालबालिकाको पोषण, गुणस्तरीय खाद्यवस्तु पु¥याउनुपर्छ । महिला मन्त्रालयले ध्यान दिन आवश्यक छ ।’

सांसद जागाले बालबालिकाहरुमा पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तु पु¥याउनुपर्ने माग गर्नुभयो ।