काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरुवा तथा बढुवा प्रणाली पारदर्शी र नीति आधारित बनाउन आवश्यक बताउनुभएको छ ।
बुधवार सिंहदरबारस्थित मन्त्रालयमा प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो । दिनैपिच्छे सरुवा हुने तथा कर्मचारीले सुरुवा बढुवाका लागि सचिव वा सहसचिवलाई भेट्नैपर्ने संस्कृतिको विकास हुँदा प्रशासनिक संयन्त्रमाथि व्यापक प्रश्न उठ्ने गरेको उहाँको भनाइ छ ।
उहाँले मन्त्री र सचिवलाई भेटेपछि मात्र सरुवा हुने मनोविज्ञानको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सरुवा र बढुवा अनुमानमा आधारित तथा पारदर्शी तरिकाले हुने प्रणालीको विकास गरेर प्रत्येक कर्मचारीले आफ्नो अवस्थाको सहज आँकलन गर्न सक्ने वातावरण बनाउनेमा आफ्नो जोड रहने बताउनु भयो । उहाँले कर्मचारीको सरुवा र बढुवाका लागि कर्मचारीले पैसा खर्च गर्ने संस्कारको अन्त्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘खासगरी सरुवामा धेरै प्रश्नहरु उठेका छन् । प्रत्येक महिनामा सरुवा, प्रत्येक दिन सरुवा ! सरुवा बढुवा पनि कुनै नीतिमा टेकेर नहुने, विद्यमान ऐनमा टेकेर नहुने अवस्था छ । सुरुवा प्रणालीलाई हामी कसरी प्रश्न नउठ्ने बनाउन सक्छौं त ? यसलाई अनुमानमा आधारित कसरी बनाउन सक्छौं त ? प्रत्येक कर्मचारीले आफ्नो सरुवा र बढुवाबारे अनुमान गर्न सकोस् । भौतिक रुपमा सचिव, सहसचिवलाई भेटेपछि सरुवाको काम बन्छ भन्ने जे जस्तो मनोविज्ञान छ । त्यसलाई अन्त्य गर्नुपर्छ । मन्त्रालयमा धाउने, माथिल्लो तहको कर्मचारीलाई भेटेर मात्र मेरो काम बन्छ भन्ने संस्कृतिको अन्त्य गर्नुपर्छ । म यहाँ आइसकेपछि म पालिकाबाट मेयर आउनुभएको छ, उपमेयर, कर्मचारीहरु मलाई त्यहाँ काम गर्न अफ्ठ्यारो भयो भनेर आउनुहुन्छ । मलाई यहाँ सारिदिनुप¥यो । मलाई त्यहाँ सारिदिनुप¥यो भन्ने कुराहरु मात्र लिएर आउनुहुन्छ । यस्तो मात्र परिस्थिति किन बन्छ ? यसलाई किनै चेन्ज गर्नुपर्छ भन्ने परिस्थितिमा आज म पुगेको छु । यसमा सिस्टम नबदलिकन त हुँदै हुँदैन ठाउँमा म पुगेको छु । पैसा तिरेर मात्र मेरो काम बन्छ भन्ने जसन कुरा उठेको छ नि त्यो कुरा त कुनैपनि हालतमा हन दिनु हुँदैन । सेवाग्राहीले सेवा, लिन र कर्मचारीलदे सरुवा र बढुवाको लागि पैसा खर्च गर्नुपर्छ भन्ने संस्कारको अन्त्य गर्नैपर्छ ।’
मन्त्री न्यौपानेले आफू पादरर्शी रहँदा रहँदै पनि आफ्नो नाम दुरुपयोग हुनसक्नेतर्फ पनि सचेत रहेको बताउनु भयो । उहाँले आफ्नो नामको दुरुपयोग गरेर सरुवाको नाममा घुस मागेको खण्डमा त्यसबारे जानकारी दिन सार्वजनिक रुपमा आग्रह पनि गर्नुभयो । ‘यो मन्त्री लोभि छ कि भन्ने कसैले सोचिरहनु भएको छ भने किमार्थ त्यस्तो नसोचिदिनुहोला । म त सामान्य जीवन जिउने मान्छे हो । मैले आफूले सामान्य जीवन बिताएर राष्ट्र लाई योगदान गर्छु भनेर कमिटमेन्ट गरेर आएको मान्छे हो । तर कसै अरुले मेरो नामको दुरुपयोग गर्ने कुरालाई पनि मैले त्यतिक्कै हेर्नुपर्नेछ । यदि त्यसो गरेको कसैले थाहा पाउनुभयो भने त्यो कुरा मलाई दिएर सहयोग गरिदिनुहोला ।’
उहाँले कर्मचारीको सरुवा बढुवालाई पारदर्शी बनाउँदै प्रशासनिक सेवालाई प्रभावकारी प्रतिवद्धता व्यक्त गर्नुभयो ।










