उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यमान औद्योगिक सम्पत्तिसम्बन्धी कानूनहरू देशको वर्तमान आवश्यकताका लागि पर्याप्त नरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा औद्योगिक सम्पतीसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भण्डारीले निजी क्षेत्रलाई समेत समेटेर नविनता र स्टार्टअप प्रवद्र्धन नयाँ कानून आवश्यक रहेको बताउनुभएको हो । उहाँले हाल प्रचलनमा रहेको कानूनले आफ्नै सम्पत्तिको सुरक्षा गर्न गाह्रो भएको बताउनु भयो । उहाँले औद्योगिक उत्पादन र व्यापारिकरणका लागि निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै अहिलेका कानूनी संरचनाहरूले त्यो सम्भव नबनाएको तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले औद्योगिक सम्पतीसम्बन्धी कानूनको जुन अभ्यास हामीले गरिरहेका छौं । त्यो हाम्रो लागि पर्याप्त छैन । हाम्रा सम्पतीहरुको हामी आफैंले पनि सुरक्षा गर्न सकिरहेका छैनौं । विश्वव्यापारमा हाम्रो आजको जे अवस्था छ । आज हामीले स्टार्टअप नविनतामा जति छलाङ मार्नुपर्ने हो त्यति मार्न सकिरहेको अवस्था छैन । त्यसैले आजको दिनमा हामीले वस्तुको उत्पादन गर्नको लागि, त्यसको व्यापारिकण गर्नको लागि निजी क्षेत्रलाई पनि सँगै लग्नुपर्ने भएको कारणले त्यसका लागि हिजोका कानूनहरु अपर्याप्त छन् । ’
विधेयकमाथिको छलफलमा बोल्दै सांसदहरुले औद्योगिक सम्पतीको सुरक्षाका लागि उक्त विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।










