२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

९० प्रतिशत शैक्षिक परामर्श संस्थाहरुको अनुमतिपत्र छैन, कारबाही गर्छौंः महानिर्देशक दाहाल



अ+ अ-

काठमाडौं: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालमा सञ्चालनमा रहेका धेरै शैक्षिक परामर्श संस्थाले अनुमतिपत्र नलिई अवैधानिक रूपमा सेवा दिइरहेको बताउनुभएको छ ।

‘शैक्षिक परामर्श क्षेत्रमा सुधारका लागि चुनौति र अवसरहरू’ विषयक नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा आयोजित अन्तरक्रियामा उहाँले देशभर करिव १० हजार शैक्षिक परामर्श केन्द्रमध्ये आधा भन्दा बढी संस्था अनुमति बिनै सञ्चालनमा रहेका र यस्ता संस्थामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताउनुभएको हो । दाहालले अवैधानिक रुपमा सञ्चालित संस्थाहरु कि दर्ता हुनुपर्ने नत्र बन्द गरिने बताउनु भयो । उहाँकाअनुसार अवैधानिक रुपमा सञ्चालित संस्थाहरुका बारेमा सरकार निर्मम रुपमा लाग्नेछ । ९० प्रतिशत संस्थाहरु अवैध रुपमा सञ्चालनमा रहेको उहाँको भनाइ छ ।

वाणिज्य विभागका महानिर्देशक दाहालले भन्नुभयो– ‘हामीले प्रारम्भिक जानकारी दिएका छौँ, त्यसमा ९० प्रतिशत संस्था अवैध रूपमा सञ्चालनमा रहेको विवरण छ । यस विषयमा गम्भीर छलफल र आवश्यक अध्ययन गरी कारबाही प्रक्रिया अगाडि बढाउनेछौँ । त्यसका लागि योजना बनाइरहेका छौँ । यो शैक्षिक परामर्शमा जुन हामीले अनुगमन गरिरहेका छौं । यहाँ दुई प्रकारको अनुगमन गर्ने गरेका छौं ।  जसको दर्ता नै छैन्, अनुमति नै नलिइ सञ्चालित छन् तत्काल १ लाखदेखि ५० हजार जरिबना गर्ने गरेका छौं । यो हामीले उन्मुीक्त दिएको होइन । हामी दोस्रो पटक पनि अनुगमनमा जान्छौं । किनकी त्यसरी सञ्चालन गर्न पाइँदैन । त्यो त, सिधै ठगी हो ।’

शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्त कोइरालाले नियमानुसार सञ्चालनमा रहेका संस्थाहरू डराउनुपर्ने कुनै कारण नरहेको बताउँदै सहकार्य र संवादमार्फत अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले नवीकरणका लागि निवेदन दिइसकेका तर प्रक्रियामा रहेका संस्थाहरूलाई मन्त्रालयले चाँडै निकास दिने जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न शैक्षिक परामर्श संस्था, सरकारी निकायका प्रतिनिधि तथा सरोकार भएकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । शिक्षा मन्त्रालय शेक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख शेवन्त कोइरालाले आफूहरुलाई कारबाही गर्ने अधिकार हुन नसक्दा अनुगमन हुन नसकेको बताउनुभयो । उहाँका अनुसार गृहमन्त्रालयलाई मन्त्रालयले आग्रह गर्ने गरेको छ ।

शाखा प्रमुख कोईरालाले भन्नुभयो– ‘शैक्षिक परामर्श केन्द्रहरुको अनुगमन शिक्षा मन्त्रालयले गर्नुपर्ने थियो । हामीले सकेनौं । यद्यपि अनुगमनका प्रयास भएका छन्  । तोकेको अवधिमा निवेदन दिएर ९२४ वटा त्यस्ता संस्थाहरु हामीसँग आवद्ध हुन चाहे । अरु संस्थाहरुले चाहेका छैनन । नचाहेको संस्था कानूनसम्मत हुन सक्दैन । त्यसलाई अनुगमन गरेर अनाधिकृत हुन्छ भने हामी शिक्षा मन्त्रालय आफँै कानूनले कारबाही गर्न नसक्ने हुँदा गृहमन्त्रालयलाई बारम्बार पत्राचार गर्ने गरेका छौं । नेपाल प्रहरीले समेत त्यसलाई हेरेको छ । गृह मन्त्रालय मातहतको जिल्ला प्रशासन कार्यालयले समेत यसलाई हेर्ने गरेको छ ।’

उहाँकाअनुसार शैक्षिक परामर्श केन्द्रहरुले राजश्वमा समेत योगदान गर्ने गरेकाले उनीहरुलाई वैधानिक तवरले काम गर्ने वातावरण राज्यले प्रदान गर्नेछ । कार्यक्रममा प्रहरी उपरीक्षक कवित कटुवालले अहिले पछिल्लो समयमा हेर्दा संस्थाहरु अर्काकै नागरिकताबाट प्रयोग हुने गरेको बताउनु भयो । उहाँकाअनुसार बैंक खातामा पनि त्यही नागरिकता प्रयोग हुने गरेको पाइएको छ ।
प्रहरी उपरीक्षक कटुवालले भन्नुभयो–‘अमुक व्यक्तिको नागरिकता प्रयोग भएर संस्थापनि दर्ता भएको छ । बैंकको खाता पनि खोलेको छ । तपाईंलाई अमेरिका, क्यानडा, बेलायत पठाइदिन्छु भनेर ती मान्छेहरु पासपोर्ट संकलन गर्ने काम गरेको छ । भिसा आउन प्रक्रियाका लागि तीन, चार महीना लाग्छ भनेर ती विद्यार्थीलाई झुलाउने काम भइरहेको छ । पैसा संकलनका लागि चेकहरु लिने गरेको पाइयो । तीन चारमहीनापछि त्यो संस्था बन्द गरेर भाग्ने प्रवृत्ति पनि देखियो ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले वाणिज्य विभागले धेरै अनुगमन गरेर व्यवसायीहरुलाई दुःख दिन नहुने बताउनु भयो । उहाँकाअनुसार निजी क्षेत्र पनि सिस्टममा आउन नचाहने प्रवृत्ति देखिने गरेको छ । संस्था दर्तादेखि समयमै नविकरण नगर्ने प्रवृत्तिहरु देखिनु हुँदैन ।

महासंघका उपाध्यक्ष ढकालले भन्नुभयो–‘लाइसेन्सका लागि आवेदन दिएको तर सरकारी निकायहरुले निर्णय नै नलिने गरेको गुनासाहरु आएका छन् । नियमन निकायहरुले निर्णय लिनुपर्यो नि । शिक्षा मन्त्रालयले शैक्षिक परामर्श केन्द्रहरुको सन्दर्भमा कि हुन्छ भन्नुपर्छ की हुँदैन् भनेर समयमै जानकारी दिनुपर्छ । युवाहरुले आफ्नै देशमा केही गरौं न भनेर व्यवसाय शुरु गरेको होला । निराश हुने वातावरण बन्यो ।’