काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टीभित्रको लामो समयदेखिको अन्तरद्वन्द्वका विषयमा निकै गहन छलफल भयो । तर अन्नत परिणाम कुनै निकाल्न सकेन । बरु पार्टीभित्रको विवादलाई अझै बढाउने देखिएको छ ।
विशेष गरी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको टकरावका विषयमा बैठकमा लामो छलफल भयो । आगामी वैशासम्म हुने भनिएको महाधिवेशनअगाडिको दाहला र शर्माबीचको रस्साकस्सीलाई समाधान गर्ने प्रयास भयो । तर त्यो प्रयासले सार्थकता पाउन सकेको छैन ।
बैठकले उपमहासचिव शर्मालाई दुई महिनाभित्र आत्मालोचना गर्न दबाब बढाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट स्थायी समिति सदस्यहरूले पार्टी नेतृत्वको विषयमा बाहिर टिप्पणी गरेको भन्दै केन्द्रीय समितिको बैठक बस्नुअघि शर्मालाई आत्मालोचना गर्न दबाब दिएका हुन् ।
आगामी दशैंपछि र तिहार अघि केन्द्रीय समितिको बैठक बोलाउने भनिएको छ । त्यसअघि उपमहासचिव शर्मालाई आत्मालोचना गर्न दबाब दिइएको हो । तर यो विषय माइन्युटमा लेखिएको छैन ।
त्यसो त बैठकमै पनि अध्यक्ष दाहालले शर्मालाई आत्मालोचना गर्न निर्देशन दिएका थिए । तर शर्माले पनि अध्यक्षले आत्मालोचना गरे मात्र आफूले गर्ने अडान राखेपछि यो विषय बैठकको माइन्युटमा नलेखिएको हो ।
बैठकमा माइन्युटमा सही नगरेको विषयमा शर्माले गल्ती स्वीकार गर्दै त्यसमा सही गर्ने बताएका थिए । तर नेतृत्वको कमजोरीबारे प्रश्न उठाउँदा पार्टी कमजोर नभई झनै बलियो हुँदै गएकाले आफूले त्यसमा आत्मालोचित हुनुपर्ने विषय नै नभएको बताएका थिए । बैठकले केन्द्रीय महाधिवेशनका बारेमा समेत कुरा उठाएको छ । २०७९ सालमै निर्णय गरिसकेको विषय उठान गर्दै आगामी केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने बताइएको छ ।
उपमहासचिव शर्माले अध्यक्ष दाहाललाई चुनौती दिँदै आएका छन् । दाहालले गरेका काममा तीव्र असन्तुष्टि राख्दै आएका उनी नेतृत्व परिवर्तनको पक्षमा छन् ।
विशेष गरेर उपमहासचिवबाट महासचिव नबनाएपछि असन्तुष्ट बनेका शर्माले २०७८ पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनयता नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको अभियान चलाइरहेका छन् ।
शर्माले २०८० फागुनमा आयोजित स्थायी समिति बैठकमा असहमतिका विषयहरू राखेका थिए । २०८१ साउनको स्थायी समिति बैठकमा त उनले १४ पृष्ठ लामो फरक मत नै दर्ज गराएका थिए । अहिलेसम्म आइपुग्दा पार्टी नेतृत्वलाई आलोचना मात्र गरेको भन्दै आत्मालोचना गर्नुपर्ने भन्दै दबाब खेप्न उनी बाध्य भएका छन् ।
अध्यक्ष दाहाल भने उपमहासचिव शर्मालाई जसरी पनि गलाउने रणनीतिमा छन् । स्थायी समिति बैठकमा अध्यक्ष दाहालकै निर्देशनअनुसार धेरैजसो सदस्यहरुले उपमहासचिव शर्माको आलोचना मात्र गरेनन् अध्यक्षलाई देवत्वकरणको प्रयास नै गरे ।
अब अध्यक्ष दाहालले शर्मालाई थप दबाबमा पार्न नेकपाका महासचिव नेत्रविक्रम शाहलाई पार्टीमा भित्र्याउने तयारी गरेका छन् । त्यसपछि पार्टी महासचिव चन्दलाई नै दिने तयारी छ । स्थायी समिति बैठकले चन्दलाई पार्टीमा ल्याउने वार्ता गर्ने निर्णय गरेको छ ।
यसअघि माओवादी केन्द्रले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीसँग पनि एकता गर्ने जनाएको थियो । चन्दलाई ल्याएर पार्टी महासचिव बनाउने र शर्मालाई दबाबमा राख्ने योजना अध्यक्ष दाहालले अपनाएको देखिन्छ ।










