काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताका लागि छलफल भइरहेको बताएको छ ।
सोमवार पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्नि सापकोटाले यसबारे जानकारी गराउनुभएको हो ।
उहाँकाअनुसार नेत्रविक्रम चन्द नेतृत्को नेपाल कम्युनिष्ट पार्टी झैँ पार्टी एकता नै गर्ने निर्णय भने भइ सकेको छैन । तर पार्टी एकताका लागि छलफल अघि बढिरहेको छ । समाजवादी मोर्चालाई नै पार्टी एकीकरणमा रुपान्तरण गर्ने लक्ष्य माओवादी केन्द्रको रहेको पनि प्रवक्ता सापकोटाले बताउनु भयो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल समाजवादी मोर्चामा आउने सम्भावना रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘माधवजीको पार्टीसँग पनि समाजवादी मोर्चामा उहाँ हुनुहुन्छ । त्यहाँ छलफल चलिरहेको छ । निष्कर्षमा पुगिसकेको छैन । छलफल चल्दैछ । हाम्रो पार्टीको तर्फबाट सकेसम्म मोर्चालाई नै पार्टी एकीकरणमा रुपान्तरण गर्ने प्रयत्न हुन्छ । ’
पार्टी एकतावद्ध भएर अघि बढ्ने कुरामा बैठक सकारात्मक रहेको बताउनु भयो ।










