२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरातेश्वर महादेवलाई किन शिकारी स्वरूपमा पूजा गरिन्छ?



अ+ अ-

महादेवको किरातरुपी अवतार या स्वरुपलाई शिकारी स्वरुप मानेको आधार हामी शिव पुराण, महाभारत कथा एवं अन्य धार्मिक ग्रन्थमा पौछौँ। पौराणिक कथा एवं धार्मिक मान्यता अनुसार महाभारत युद्धपूर्व धर्मका पथिक अर्जुनको कठोर तपस्या र भक्तिबाट प्रसन्न भइ महादेवले महाभारतको युद्ध सफलताको आशिर्वाद दिन र जगतमा धर्ममर्यदा कायम राख्ने उद्देश्यले असत्य माथि सत्यको विजय र धर्म रक्षार्थ किरात वा शिकारी स्वरुप धारण गर्नुभएको थियो।

अवतारको मूलप्रयोजन – कालप्रभावले मनुष्यमा कामनावृद्धि तथा अनाचार आदि वृद्धि हुनु र विवेक – विज्ञानको ह्रास हुनु थाल्नु हो। यसरी अधर्मको वृद्धि र धर्मको ह्रासलाई लक्षित गरि सृष्टिमा धर्ममर्यदा कायम गर्न एवं ब्रह्मत्वको सुरक्षा थियो।

महाभारतको युद्ध पूर्व हस्तिनापुरका कार्यकारी महाराज धृतराष्ट्रले सम्राट युधिष्ठिरका सबै भाइ एवं पत्नी द्रौपदीको नियंत्रित गरि युधिष्ठिरको बलपूर्वक आफ्ना राज्यबाट च्युतगरि दण्ड स्वरुप उनका भाई र पत्नी सहित १२ वर्षको वनवास तथा १ वर्षको अज्ञातवासको सजाय पश्चात् , उच्च नैतिक आदर्शमा स्थित रहेका पाण्डवहरुले श्रीकृष्णलाई सल्लाकार तथा सहयोगीका रूपमा लिए। जब सपरिवार जंगल प्रस्थान गरे तब भगवान श्री कृष्णको मार्गदर्शन एवं आफ्नो पूर्वज महर्षि वेदव्यासको सल्लाह बमोजिम अर्जुन भगवान शिवबाट पाशुपतास्त्र प्राप्त गर्न कठोर तपस्या लीनभए किनकि अर्जुनलाई ज्ञात थियो धृतराष्ट्रसँग युद्ध सजिलो छैन भन्ने।

महाभारतको युद्ध केवल साधारण युद्ध नभई धर्म र अधर्म बिचको निर्णायक लडाइ थियो। युद्ध जित्न साधारण शस्त्र, अस्त्र पर्याप्त थिएन, युद्ध जित्न दिव्यास्त्रको आवस्यकता थियो; जो अत्यन्त शक्तिशाली होस् , जसको सामना गर्न सक्ने क्षमता दुश्मनमा नहोस् । यो कुराको जानकारी भगवान श्री कृष्णले अर्जुनलाई जानकारी गराएका थिए। षडयन्त्रकारी कौरवलाई हराउनका लागि भगवान शिवमै शरणागत भइ अर्जुनले लामो समयसम्म कठोर तपस्या गरेका थिए। तत्पश्चात अर्जुनको तपस्याबाट प्रसन्न भइ किरात भेषधारी महादेवले अर्जुनको क्ष्रत्रिय धर्म अर्थात् वीरता (शौर्य)को परिक्षा लिन अर्जुनसँग युद्ध गरेका थिए।

अर्जुनको भक्ति र वीरतादेखि भगवान शिव संतुष्टभइ प्रसन्नतापूर्वक आफ्नो वास्तविक स्वरुपमा आइ आफ्नो पाशुपतास्त्र अर्जुनलाई प्रदान गर्नुभएको थियो। जसले सृष्टि विनाश गर्न सक्थ्यो जो अभेद्य अस्त्र थियो। केवल यसको प्रयोग राजधर्म, रास्ट्र, शत्रु एवं असत्य माथि सत्यको विजयको लागि थियो। धर्मका नित्य पालन कर्ता अर्जुनको दृढ़ संकल्प र दुर्योधनमाथि विजयको लक्ष्यार्थमा पुग्ने एक सुगम, सशक्त र शाश्वत माध्यम श्रीकृष्णको मार्गनिर्देशन, महर्षि वेदव्यासको शिक्षा र महादेवको आशिर्वाद थियो। अन्ततः “धर्म साध्य नभई धर्म साधन हो, जसले नष्ट हुनबाट बचाउछ।”

संनातन संस्कृति वा परम्परामा पौरस्त्य शिक्षाका बारे शास्त्रमा वर्णित ६४ कला (विद्या)मा अस्त्र- शस्त्रको ज्ञान महत्वपूर्ण हुन्थ्यो। भारतवर्षमा प्राचीन कालमा ऋषिमुनिहरुले गुरुकुलमा आध्यात्मिक शिक्षाको साथसाथै अस्त्र-शस्त्रको पनि ज्ञान दिइन्थ्यो। वैदिक कालमा शिक्षा पद्धति मानवका सर्वाङ्गीण शिक्षापद्धतिमा सिकाइ : प्रयोगात्मक, व्यवहारिक, समयानुकूल, युगानुकूल र समाजसापेक्ष ज्ञानको वर्णन पाइन्छ ।

यसको ज्वलन्त उदाहरण धर्मका पथिक अर्जुनलाई लिनसकिन्छ। किनकि अर्जुनले भगवान शिव र श्रीकृष्णप्रति समर्पण र भक्ति-भावको गहिराईमा अवतरित भइ धर्म संरक्षणको माग गर्नु र आफ्नो पूर्वज महर्षि वेदव्यास द्वारा पाएको ज्ञानलाई व्यवहारिक कौशलता वा बुद्धिमत्ताका साथ अंङ्गीकार गर्नु हो। अर्जुनले महादेवबाट जुन ज्ञान वा अस्त्र प्राप्त गरे, त्यो हतियारविशेष नभइ मन्त्रशक्ति थियो। पौरस्त्य शिक्षाले प्राचीन समाजको विद्धता, कला (विद्या) तथा ज्ञान-विज्ञानको व्यापकतालाई उजागर गर्दछ। यस प्रकारको अस्त्रको निर्माण मानवरक्षा र मानवउन्नतिका निम्ति धर्म रक्षार्थ सृष्टि गरेका थिए। जुन शक्ति वा अस्त्र धर्म-स्थापनाको सहायक हुन्थ्यो। पाशुपतास्त्र मन्त्रशक्ति थियो।

चतुर्वक्त्रं चतुर्बाहुं सूर्यकोटिसमप्रभम्। संहाराभं सुमूर्धानं प्रतिवक्त्रं त्रिलोचनम् ।।
दीप्तदन्ताग्रकेशभ्रश्मश्रुभीमं महाबलम् । शक्तिमुद्गरशङ्खासीन्दधानं सोमसूत्रिणम्।।
साङ्गं पाशुपतं शस्त्रं भजे पद्मासने स्थितम्।। – श्रीतत्वनिधि

अर्थात् चार मुख, चार हात, सूर्यको जस्तो तेज एवं प्रत्येक मुखमा तीन – तीनवटा आँखा भएको अद्भुत स्वरुप तथा शक्तिलाई पाशुपतास्त्र भनिन्छ। महाभारतलाई मानवका पुरुषार्थचतुष्टय ( धर्म, अर्थ, काम र मोक्ष ) का सम्बन्धमा विस्तृत स्वरुप पाइन्छ। महाभारतका पात्र अर्जुनको उद्देश्य पूर्ण भयो। भगवान शिवले दिनुभएको अस्त्रद्वारा महाभारतको युद्धमा अर्जुनले विजय प्राप्त गरेका थिए। सृष्टिको इतिहासमा वीरताको नैवेद्य द्वारा महादेवलाई सन्तुष्ट गर्नसक्ने एकमात्र वीर योद्धा अर्जुन थिए। अन्ततः “उसको वीरताको कहानी पर्लयको छातीमा लेखिन्छ र सदैव रहिरहन्छ।” महादेव र अर्जुनको युद्ध तपस्या र समर्पण मात्र नभएर वास्तविक भक्ति र आत्मस्वीकृति थियो, जहाँ भगवानले स्वयं भक्तको परिक्षा र उसको क्षमता अनुसार शक्ति र आशीर्वाद प्रदान गर्नु भएको थियो।

महादेवको शिकारी स्वरुपलाई किरातेश्वर महादेव वा किरातेश्वरशिवलिङ्गको रुपमा पूजा गरिन्छ। नेपालमा भएका ६४ शिवलिङ्गमध्ये किरातेश्वरशिवलिङ्ग पाशुपतक्षेत्रको गौरीर्तीर्थको डाँडामा अवस्थित छ। त्यसको निकटमा किरात लिम्बु जातिको किरात माङहिम पनि अवस्थित छ। किरातेश्वर महादेव अर्थात् शिकारी पूजाले किरातेश्वशिवलिङ्गको ऐतिहासिक महत्व र गरिमा बोकेको छ। यहाँ गरिन्ने अनुष्ठान र पूजा पद्धति वैदिक एवं तान्त्रिक परम्परालाई बचाएको छ, भने किरातहरुको इतिहासलाई संरक्षण गरेको छ। यहीँ नै किरातरुप धारण गरि महादेवले पार्वतीलाई दर्शन, मृगरुप लिएर प्राणीको कल्याण, किरातस्वरुप लिएर अर्जुनलाई पाशुपतास्त्र दिनुभयो।

शरण्यं शरणं गत्वा भगवन्तं पिनाकिनम् ।
मृण्मयं स्थण्डिलं कृत्वा माल्येनापूजयद् भवम् ।।
– महाभारत, ( वनपर्व ३९।६५)

अर्थात् ” शरणगतहरुका मालिक पिनाकधारी महादेवको शरणमा गएर माटोको शिवमूर्ती बनाई फूलमालाले पूजन गरे।” अहिले ढुङ्गाको शिवलिङ्ग भएपनि प्रारम्भमा माटोको थियो भन्ने तथ्य यसले प्रष्ट बताउँछ। यसको जलहरी कौबेर प्रकारको छ, यहाँ नित्यनियमले पूजा हुन्छ। यो शिवलिङ्ग उत्तरतर्फ ढल्किएर केहि बाङ्गो भएको बारे अनेकौं आख्यान छन् । गौरीघाटमा साधनारत गौरी के गर्दैछिन् भनी महादेवले हेर्न लाग्दा बाङ्गो भएको किंवदन्ती छ। विरुपाक्षले बैशाखकृष्ण अष्टमीका दिनमा किरातेश्वरको दर्शन गरेका थिए।

ददाति तेऽस्त्रं दयितमहं पाशुपतं विभो।
समर्थो धारणे मोक्षे संहारे चासि पाण्डव ।।
– महाभारत, (वनपर्व ४०।१५)

अर्थात् ” महादेवले भन्नुभयो, हे पराक्रमी पाण्डुपुत्र! मेरो अत्यन्त प्रिय पाशुपतास्त्र तिमीलाई प्रदान गर्दछु। तिमी यसलाई धारण, प्रयोग र उपसंहारमा समर्थ छौं।” किरातस्वरुप महादेवको नामबाट यसको नाम किरातेश्वरशिवलिङ्ग राखिएको हो। ऋग्वेदमा किरातवंशको चर्चा छ। महाभारतको किरातपर्वमा किरातीहरुको उल्लेख छ। त्यसैको नाम वनपर्व पनि हो। वनपर्वको २८ देखि ३१ सम्मका यी चार अध्यायमा शिवले किरातरुप धारण गरेको वर्णन छ। यसै प्रकार शिवपुराण ज्ञानसंहिता अध्याय ६५ देखि ६७ सम्म भगवान शंकरको किरात रुपको वर्णन पाइन्छ।

किरातले नेपालमा शासन गरेकाले उनीहरु यहीँ भुमिका सन्तान हुन भन्ने कुरा शास्त्र र इतिहासले खुलस्त पारिदिएको छ। नेपाल लगायत भारतवर्षका केहि मुलुकमा शिकारी स्वरुप किरातेश्वरको पूजा गरिन्छ। भारतको सिकिम्म राज्यको पश्चिम, रंगीत नदी स्थित किरातेश्वर महादेव मन्दिर छ। यस मन्दिर महाभारत घटनासँग सम्बन्धि छ। यहाँ शिवरात्रि, महाशिवरात्रि एवं बालाचतुर्दर्शी पर्व धुमधाम मनाउने चलन छ। किरात वेषधारी महादेवको शिकारी स्वरुपलाई नै किरातेश्वर महादेव अथवा किरातेश्वरशिवलिङ्गको रूपमा पूजा गर्छन् भन्ने विषयलाई शास्त्रले छर्लङ्ग पारिदिएको छ।




भर्खरै