२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा विधेयक पास गर्न ढिला भयो, सरकार गम्भीर होस्ः एमाले सांसद गैरे



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले शिक्षा विधेयक पारित गर्नमा ढिलाइ भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद गैरेले यस्तो बताउनुभएको हो ।

उहाँले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा सरकारले सरोकारवाला निकायबीच भएका प्रतिवद्धताहरूको कार्यान्वयनमा समेत ढिलाइ भइरहेको टिप्पणी गर्नुभयो । उहाँले निजामति सेवा सम्बन्धी विधेयक, प्रहरी सेवा विधेयक लगायतका महत्वपूर्ण विधेयक पारित गरेर संसदबाट जनतामा सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिनुभयो । गैरेले सुशासन, मानव अधिकार, प्रेस स्वतन्त्रता, रोजगारी, उद्यमशीलता, औद्योगिकरण, पर्यटन तथा कृषि क्षेत्रको विकासका लागि आवश्यक कानून निर्माणमार्फत निर्यातमुखी आर्थिक प्रणाली निर्माण गर्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले शिक्षा विधेयक पास गर्न निकै ढिला भइसकेको छ । सरकारले सरोकारवालासँग गरेको प्रतिवद्धताको कार्यान्वयनमा समेत ढिलाई भइरहेको छ । निजामति विधेयक, प्रहरी विधेयक लगायत महत्वपूर्ण विधेयकहरु पास गरेर हामीले यो संसदबाट एउटा सकारात्मक सन्देश दिनुपर्नेछ । सुशासनको क्षेत्रमा, मानव अधिकारको ग्यारेन्टीको क्षेत्रमा, प्रेस स्वतन्त्रताको ग्यारेन्टीको क्षेत्रमा लगायत जनजिविकाको क्षेत्र, रोेजगारीको क्षेत्रमा, उद्यमशिलताको विकास, औद्योगिकरण, पर्यटन र कृषि क्षेत्रको विकासमार्फत हाम्रो आायतलाई कम बनाउँदै निर्यातजन्य परिस्थिति निर्माण गर्नको लागि आवश्यक कानून निर्माण गरेर उक्त प्रक्रियालाई सहजिकरण गर्नुपर्नेछ । सरकारले आफूलाई त्यसअनुरुप प्रश्तुत गर्नुपर्ने आजको आवश्यकता छ ।’

सरकारले कानून निर्माण प्रक्रियामा प्रतिवद्ध भएर प्रश्तुत हुनुपर्ने आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।