१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कुलिङ अफ पिरियड’ हटाउने कार्यमा संलग्नहरूको नाम किटान गरी छानविन प्रतिवेदन आओस्ः सांसद ज्वाला



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले संघीय निजामति सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउने प्रक्रियामा सहभागि व्यक्ति र कारबाही स्पष्ट रुपमा उल्लेख गरेर प्रतिवेदन ल्याउन छानविन समितिसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद ज्वालाले यस्तो माग गर्नुभएको हो । उहाँले  राजनीतिक र प्रशासनिक हस्तक्षेपका कारण कुलिङ अफ पिरियडको व्यवस्थामा छलछाम गरिएको समेत टिप्पणी गर्नुभयो ।

उहाँले संसदको गरिमा रक्षा गर्न यस्तो हस्तक्षेपका दोषीहरूलाई किटान गरेर छानविन प्रतिवेदन आउनुपर्ने बताउनु भयो । उहाँले आठ अर्बभन्दा बढी मूल्यमा पासपोर्ट छपाइको ठेक्का टुक्राएर सेटिङमार्फत दिन खोजिएको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले उक्त ठेक्का रद्ध गरी पारदर्शी रुपमा नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको गरिमाको लागि पनि सत्ता र राजनीतिक, प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षेपका बाबजुद संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर आओस् भन्ने कुरामा म जोडदार माग गर्दछु । आठ अर्बभन्दा बढी पासपोर्ट छपाईको ठेक्का टुक्र्याएर सेटिङमा दिनेगरी घप्लाबाजी गरेकोले उक्त ठेक्का खारेज गरि नयाँ ठेक्का प्रक्रिया अगाडि बढाइयोस् । प्रहरी र सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान खरिदको विषयमा पनि मिलोमतो भइरहेको छ । सो ठेक्का पनि खारेज गरी पारदर्शी तरिकाले गरियोस् ।’

उहाँले प्रहरी र सशस्त्र प्रहरीको बन्दोबस्ती सामग्री खरिदमा पनि मिलोमतो भएको आरोप लगाउनु भयो ।