२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह

संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह
अ अ+ अ-

काठमाडौँ । सङ्घीय संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूले आग्रह गर्नुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उहाँहरूले तोकिएको समयभित्र निर्माण सम्पन्न नभए पनि अब थपिएको म्यादभित्र विलम्ब नगरी भवन निर्माण गर्न आग्रह गर्नुभएको हो ।

बैठकमा सहरी विकास तथा भवन निर्माण विभागसँग निर्माणाधीन संसद् भवनको पछिल्लो अवस्थाबारे छलफल भएको थियो । त्यस क्रममा सांसद मदनकुमारी शाह गरिमाले सिंहदरबारभित्रै समयमा भवन निर्माण सम्पन्न नहुनु दु:खद रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिंहदरबारभित्रै यस्तो हालत छ भने अरूतिर के होला ? समितिले पटक पटक निर्देशन र ‘फलोअप’ गर्दा पनि संसद् भवन निर्माणले गति लिन सकेन । सबैको चासो हुँदा पनि काम नहुनुले हाम्रो काम गर्ने शैली र प्रतिबद्धतामाथि नै प्रश्न उठेको छ ।”

सांसद पदमबहादुर परियारले थपिएको म्यादभित्र पनि भवनको काम सम्पन्न हुनेमा विश्वस्त हुन सक्ने आधार नदेखिएको धारणा राख्नुभयो । “निर्माण कम्पनीले एक वर्षको समय माग गरेको थियो, तर ६ महिना म्याद थपिएको छ । के यो समयभित्र साँच्चिकै काम सकिन्छ त ? समयभित्र काम हुन्छ भन्ने विश्वास गर्न कठिन छ”, उहाँले भन्नुभयो । संसद् भवनको डिजाइन पनि अपाङ्गतामैत्री नभएको सांसद परियारको भनाइ थियो ।

सांसद रेणु चन्दले संसद् भवन निर्माण गरिराख्दा सदनमा प्रतिनिधित्व गर्ने ३३ प्रतिशत महिलालाई ध्यान राखेर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भवन निर्माण गर्दा अपाङ्गमैत्री, महिलामैत्री छ वा छैन त ? स्तनपान कक्ष, शौचालयमालगायत उपयुक्त सुविधा हुनुपर्छ ।”

भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर मचाकाजी महर्जनले निर्धारित म्यादभित्र निर्माण सम्पन्न गर्न प्रयास भइरहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीबाट क्रमिक रूपमा जनशक्तिको सङ्ख्या बढाउँदै लगिएको जानकारी दिनुभयो । निर्माण कार्यमा आएका समस्या छिटो समाधान गर्न आयोजना कार्यालय, परामर्शदाता र निर्माण व्यवसायीबीच साप्ताहिक रूपमा त्रिपक्षीय बैठक बसेर काम अगाडि बढाउने गरिएको महानिर्देशक महर्जनको भनाइ थियो ।

विसं २०७६ असोज १६ गते भवन निर्माण सम्झौता हुँदा अन्तिम म्याद २०७९ असोज १६ गते रहेको थियो । उक्त अवधिमा निर्माणसम्पन्न हुन नसक्दा २०८२ पुस १६ गतेसम्म पाँचौँपटक म्याद थपिएर काम भइरहेको छ । भवनको हालसम्म भौतिक प्रगति ८६ प्रतिशत रहेको छभने भवन ‘इन्टेरियर’ गर्ने कार्यको भौतिक प्रगति २१ प्रतिशत मात्र रहेको छ ।

बैठकमा सिंहदरबार ग्यालरी बैठक पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको थियो । ग्यालरी बैठक पुनर्निर्माणका लागि विसं २०८१ जेठ ६ मा सम्झौता भई आगामी मङ्सिर ६ सम्म निर्माणसम्पन्न हुने लक्ष्य छ । विभागका अनुसार हालसम्म २५ प्रतिशत भौतिक प्रगति र २२ प्रतिशत वित्तीय प्रगति रहेको त्यस अवसरमा जानकारी दिइयो ।

विभागका उपमहानिर्देशक सुनिलकुमार ठाकुरले ‘रेट्रोफिटिङ’ कार्य सुरु गर्न गारो प्लास्टर निकालिएको र जगको प्रबलीकरणका लागि ‘माइक्रोपाइलिङ’को काम सम्पन्न भई अन्य कार्य भइरहेको जानकारी गराउनुभयो । “निर्माण कार्यबाट निस्केको माटो तथा अरू नचाहिने सामग्रीको उचित व्यवस्थापन गर्न कठिनाइ भएको छ । रेट्रोफिटिङ कार्य आफैँमा जटिल कार्य हो । ग्यालरी भवनको मौलिकतालाई कमभन्दा कम क्षति पुर्‍याएर काम गर्नुपर्ने भएकाले सोचेकोभन्दा धेरै समय लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यकाका विभिन्न राणाकालीन सभ्यता, कला र वास्तुकला र प्रविधिलाई प्रतिनिधित्व गर्ने यस भवनको ऐतिहासिक महत्त्व र मौलिकपना कायम हुनेगरी भवनको प्रबलीकरण गरिने विभागले जनाएको छ ।