५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन



अ+ अ-
काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिनुभएको छ ।
आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो ।
“निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु”, गृहमन्त्री लेखकले भन्नुभयो, “नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।”
सीमित स्रोतसाधनका बीच प्रहरीमा सिआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सिआइबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गर्नुभयो । मुलुकमा पछिल्लो समय वित्तीय अपराधका घटना बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिनुभयो ।
“प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ”, उहाँले भन्नुभयो, “प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतकोभन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा बजेट बढी विनियोजन गरिएको छ ।”
प्रहरीभित्र सिआइबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उहाँले जिम्मेवारी पूरा गर्न प्रविधि, जनशक्तिलगायतका विकास गरिनेमा जोडदिनुभयो ।
त्यस अवसरमा सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सिआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीलगायत विषयमा प्रस्तुति राख्नुभएको थियो ।
वरिष्ठ उपरीक्षक बोगटीले सिआइबीले निर्मला पन्त हत्या प्रकरणका साथै अन्य घटनाका सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत सिआइबीका कार्यरत प्रहरी अधिकारीको उपस्थिति थियो ।