१ भाद्र २०८३, सोमबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक चापागाईँको उदाहरणीय कागती खेती



अ+ अ-

त्रिवेणी, (नवलपरासी) । सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ । बोटमा लटरम्म कागती फलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा बिताउनुभएका देवचुलीका दीपक चापागाईँ यतिबेला कागती टिपेर बजार पठाउन व्यस्त हुनुहुन्छ । जीवनका विविध आवश्यकता पूरा गर्न विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँ अहिले स्वदेशमै कृषिमा भविष्य खोज्दै हुनुहुन्छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–४, सिङ्चाङमा ८० रोपनी जमीनमा चापागाईँको कागती बगैँचा छ । लगानी र व्यवस्थापनमा सहजताका लागि देवचुलीकै देवीप्रसाद भुसालसँग मिलेर पाँच वर्षअघि दुई हजार कागतीका बिरुवा रोपेर थालिएको कागतीखेतीले यतिबेला उत्पादन दिन थालेको छ । गत वर्ष सामान्य रूपमा केही कागती उत्पादन भएको भए पनि अहिले धेरै बोटमा राम्रो कागती उत्पादन सुरु भएको उहाँले बताउनुभयो ।

यो वर्षमात्र ५० क्विन्टल कागती बजारमा पठाइसकिएको उहाँले बताउनुभयो । कागतीले उत्पादन दिन थालेपछि स्वदेशमा कृषिबाटै आम्दानी गर्ने चापागाईँको सपनाले मूर्तरूप लिन थालेको छ । “विदेश बसियो लामो समय, तर यतिकै जीवन जालाजस्तो लागेन, स्वदेश फर्किएपछि पनि यताउता बुझ्ने क्रम रह्यो, अरुअरु व्यवसाय पनि गरेँ, अन्त्यमा अब कागतीको सम्भावना छ भन्ने लागेर खेती सुरु गरियो, फल दिन थालेपछि अब आशा जागेको छ” किसान चापागाईँले भन्नुभयो ।

उहाँ अनुसार सबैजसो बोटबाट उत्पादन सुरु भएकाले यस वर्ष करिब पाँच सय क्विन्टल कागती उत्पादन हुने अनुमान छ । चापागाईँ र भुसालले सफल कृषि फार्म र भुसाल कृषि फार्ममार्फत सुन्तला र कागतीखेतीलाई अगाडि बढाएका छन् । कागतीखेती विस्तारका क्रममा रहेको भुसालले बताउनुभयो ।

दुवै जना मिलेर सिङ्चाङमा सुरु गरेको उदाहरणीय कागतीखेतीका कारण यहाँ अन्य किसानसमेत कागतीखेतीतर्फ आकर्षित भएका छन् । यहाँ गाउँका अन्य किासनले समेत करिब चार हजार बिरुवा लगाएका छन् । सिङ्चाङ क्षेत्र अहिले कागती उत्पादनको क्षेत्रजस्तै बनेको छ । उनीहरूले कागती र सुन्तलाको बिरुवासमेत उत्पादन गर्दै आएका छन् । नर्सरीका रूपमा बिरुवा उत्पादन गरी बिक्री गर्दै आएको भुसालले बताउनुभयो । कागतीखेतीमा हालसम्म रु एक करोड बढी लगानी भएको उहाँको भनाइ छ । कागतीखेती सुरु गरेपछि केहीले यहाँ रोजगारीसमेत पाएका छन् । स्थायी रूपमा तीन जना कामदार रहेको र समयसमयमा अन्य कामदारसमेत खटाइने गरिएको छ । नजिकै पर्ने बौदीकाली गाउँपालिकामा उनीहरूले सुन्तलाखेतीको समेत थालनी गरेका छन् ।

नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार, जिल्लाभरि हाल करिब एक सय ५० जना किसान कागतीखेतीमा संलग्न छन् । नवलपुरमा करिब ५० हजारभन्दा बढी बिरुवा रोपिएको छ । नवलपुरमा यस वर्ष करिब पाँच सय मेट्रिक टन कागती उत्पादन हुने अनुमान गरिएको छ । कागतीसँगै नवलपुरमा सुन्तलाखेती गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘फलफूल जोन विकास कार्यक्रम’ मार्फत नवलपुरमा कागतीखेती प्रवर्द्धन हुँदै आएको छ । कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका वरिष्ठ कृषि अधिकृत देवीप्रसाद अधिकारीका अनुसार किसानलाई नर्सरी व्यवस्थापन, बिरुवाको अनुदान, रोग–कीराको नियन्त्रणका लागि औषधि उपलब्ध गराइएको छ । अनुदानले कागती र सुन्तलाखेती गर्नेहरूको सङ्ख्या बढाउँदै गएको उहाँले बताउनुभयो ।

कागती उत्पादन राम्रो हुँदै गए पनि बजारको भने चिन्ता थपिँदै गएको किसानको गुनासो छ । अहिले कागती प्रतिकेजी रु ८५ सम्ममा बिक्री हुँदै आएकाले मूल्यसमेत कम रहेको उहाँको भनाइ छ । उपयुक्त मूल्यमा बिक्रीका लागि सरोकारवालाले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

कागतीको उत्पादन बढ्दो भएकाले यसको बजारीकरणमा समस्या हुन नदिन बजार खोज्नुपर्ने आवश्यकता देखिएको अधिकारीले बताउनुभयो । यहाँ उत्पादन भएको कागती स्थानीय बजारमा मात्र खपत हुने अवस्था नरहेकाले काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रमा सहज रूपमा बजारीकरणका लागि पहल भइरहेको उहाँको भनाइ छ । रासस