२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै



अ+ अ-

मुस्ताङ। मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड जातको स्याउखेती गर्न थालिएको छ । स्थानीय जातका परम्परागत स्याउ बोटले भन्दा इटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिडका बोटले गुणस्तरीय र छिटो उत्पादन दिने भएकाले यहाँको यसतर्फ आकर्षण बढेको हो ।

गतवर्षसम्म यहाँका किसानले ८९० हेक्टर जमिनमा हाइब्रिड जातका स्याउका बिरुवा लगाएका यहाँस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष थप जमिनमा बिरुवा लगाउनेको सङ्ख्या बढेको केन्द्रले जनाएको छ ।

सुरुआती चरणमा मनाङ एग्रो कम्पनीले यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीको परीक्षण गरेको थियो । विसं २०७५ मा परीक्षण गरिएको परीक्षण सफल भएपछि यहाँका अरु किसानले पनि सोही प्रविधि अपनाएर खेती गर्न थालेका चिम्ले अचार्ड कृषि स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय मुस्ताङका पाँचै स्थानीय तहका किसानले स्थानीय जातलाई थाँती राख्दै हाइब्रिड स्याउखेती गर्न थालेका हुन् ।

स्थानीय जातका बोटको तुलनामा हाइब्रिड बोटले दोब्बर तथा गुणस्तरीय तथा आकर्षक उत्पादन दिने भएकाले किसानको आकर्षण बढेको सञ्चालक गुरुङको भनाइ छ । यहाँ उच्च घनत्वको नयाँ स्याउखेती अपनाउन थालिएसँगै ग्रेगान बगरबाट उच्चलेकसम्म बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय यहाँको कालीगण्डकी तटीय भू-भागको गेग्रान बगरबाट शाखा नदीको खाली गेग्रान बगरमा हाइब्रिड स्याउखेती विस्तार भइरहेको केन्द्रले जनाएको छ । सामूहिक रूपमा नदी क्षेत्रको गेग्रान बगरबाट उच्च उचाइमा हाइब्रिड स्याउखेती गर्न थालिएको केन्द्रका प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो ।

मुस्ताङमा सबै खेतीयोग्य जमिनमा ५० वर्षसम्मका स्थानीय जातका स्याउ बोट विद्यमान छन् । फल दिइरहेका स्थानीय जातका स्याउलाई कायम राखी खाली भएका सार्वजनिक जग्गामा हाइब्रिड जातका बोट रोपिएको उहाँको भनाइ छ ।

मनाङ एग्रो कम्पनीले यसवर्ष २० हजार हाइब्रिड जातका स्याउका बिरुवा मुस्ताङ पठाइएको थियो । यहाँको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाभित्र बाँझो जग्गा र गेग्रान बगरमा हाइब्रिड स्याउखेती गरिएको केन्द्रका प्रमुख गुरुङले जानकारी दिनुभयो ।

“सरकारी खेर गइरहेका गेग्रान बगरमा स्याउखेती गरिए पनि समुदायस्तरमा लाभ वितरण गरिने छ । यहाँको कूल भूगोलको दुई प्रतिशतको नक्सा नभएकाले समुदाय वा व्यक्तिलाई उक्त जग्गा भाडामा दिन कानुनी जटिलता देखिएको छ । सार्वजनिक जग्गाको वर्गिकरण गरी भाडामा दिन सके किसान आत्मनिर्भर बन्नुका साथै राजस्व वृद्धि हुनेछ”, उहाँले भन्नुभयो ।

नयाँ प्रविधिमा हाइब्रिड स्याउखेती गर्न थालेसँगै खेर गइरहेका बाँझो जग्गा, तटीय ग्रेगान बगर र उच्चलेकसम्म बिरुवा रोपिएको प्रमुख गुरुङले बताउनुभयो ।

थोरै क्षेत्रफलमा धेरै बिरुवा रोप्न सकिने, छिटो उत्पादन दिने, एउटा बोटले ३० किलोसम्म उत्पादन दिने भएकाले कृषक यसतर्फ आकर्षित भएका उहाँको भनाइ छ । उहाँले दुई सेन्टिमिटरको दूरीमा बिरुवा रोपिने जनाउँदै बजारीकणमा समस्या नहुने बताउनुभयो । रासस