२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ दिनको चिनजानमै प्रेम, आशंकाले लिए किशोरीको ज्यान



अ+ अ-

धनगढी। कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियास्थित एक रेस्टुरेन्टको किचनमा प्रेम सम्बन्धको जटिलताले एक १७ वर्षीया किशोरीको ज्यान लिएको छ। राजधानी सेकुवा एण्ड मःम सेन्टरमा कार्यरत याचना सेजुवालको हत्या सोही रेस्टुरेन्टमा काम गर्ने ३३ वर्षीय निरज साउदले चक्कु प्रहार गरेर गरेका हुन्।

सेजुवाल करिब दुई हप्ता अघि मात्र वेटरको रुपमा उक्त रेस्टुरेन्टमा काम गर्न थालिएको थियो। त्यहीँ किचनमा काम गर्ने निरज साउदसँग चिनजान हुँदै उनीहरूबीचको सम्बन्ध प्रेममा बदलिएको प्रहरी अनुसन्धानले देखाएको छ। साउदको केही समयअघि श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको थियो र उनी दुई सन्तानका बाबु समेत हुन्।

याचना र साउद बीचको प्रेम सम्बन्ध तीव्र गतिमा अगाडि बढेको थियो। साउदले याचनासँग विवाह गर्ने योजनासमेत बनाइसकेका थिए। याचना पछिल्लो समय साउदको किचन कार्यमा समेत सहयोग गर्न थालेकी थिइन्।

तर, पछिल्लो दिनहरूमा याचनाले अन्य केटासँग फोनमा कुरा गरिरहेकी थाहा पाएपछि साउद क्रोधित बनेका थिए। प्रहरीका अनुसार, शुक्रवार साँझ उनीहरूबीच सँगै भाग्ने योजना बने पनि अन्तिम समयमा याचनाले निर्णय फेरेपछि साउद थप आक्रोशित बने।

शनिबार बिहान करिब १० बजे, रेस्टुरेन्टको किचनमा काम गर्ने क्रममा ती दुईबीच विवाद भयो। विवादको चरम बिन्दुमा पुगेपछि साउदले भान्सामा रहेको धारिलो चक्कुले याचनाको घाँटीमा प्रहार गरे। रगतसहित ढलेकी याचनालाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याइयो तर उनको ज्यान जोगाउन सकिएन।

घटनाको जानकारी पछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। साउदलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ र हाल उनी इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा छन्।

साउदले प्रारम्भिक बयानमा भनेका छन्, “उनीसँग विवाहको कुरा टुंगोमा पुगेको थियो, तर उनले अन्य केटासँग पनि फोनमा कुरा गरिरहेकी थिइन्। सोध्दा झगडा भयो र त्यसकै आवेगमा चक्कु प्रहार गरेँ।” उनले आफूले ठूलो गल्ती गरेको महसुस भइरहेको बताएका छन्।

मृतक याचनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको कैलाली प्रहरी कार्यालयले जनाएको छ।